• श्रावण १२ २०८३, मंगलवार

सुनसरीमा मान्छे मारिएकाे घटनाको जिम्मेवारी सरकारले लिनुपर्नेमा नेकपाकाे जाेड

श्रावण १२ २०८३, मंगलवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिएको छ ।

नियम–कानुनको उल्लंघन गरी जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने मंगलबार (साउन १२) नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको ठहर छ ।

उक्त घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन नेकपाले माग गरेको छ । घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न पनि नेकपाले भनेको छ ।

“त्यहाँका सुरक्षा निकायहरू नेतृत्वविहीन रहनु सुरक्षा व्यवस्थाको अर्को गम्भीर कमजोरी हो,” विज्ञिप्तमा भनिएको छ, “सरकारी निकायको गैरजिम्मेवार रवैयाका कारण परिस्थिति थप भड्किएको र नागरिकको ज्यान समेत गएको छ । ”

घटना गम्भीर मानव अधिकार उल्लंघन मात्र नभई गैरन्यायिक हत्याको उदाहरण रहेको नेकपाले जनाएको छ । अन्धाधुन्ध गोली चलाएर नागरिकको हत्या गरिएको घटनाको नेकपाले भर्त्सना गरेको छ ।

आइतबार (साउन १०) राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । अरू केही व्यक्ति घाइते छन् ।