काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा मागेका छन् ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।
अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । डा. सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सकारात्मक बनेका थिए ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए । तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ ।
उनका अनुसार वार्ताकै क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्न सकिने चेतावनी दिएपछि सीडीओ आक्रोशित बने । त्यसलगत्तै सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए ।
डा. सिंहले भने, ‘हामी वार्ताबाट बाहिर निस्किँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकलाई घेरा हालियो । मोबाइल खोसियो, फेरि कार्यालयभित्र लगेर झण्डै एक घण्टा नियन्त्रणमा राखियो । अपराधीलाई जस्तो व्यवहार गरियो । त्यसपछि यस्तो वातावरणमा काम गर्न सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं ।’
उनका अनुसार प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । ‘सबै चिकित्सकले राजीनामा दिएपछि आकस्मिक सेवा कसले सञ्चालन गर्ने रु अहिले अस्पतालको सेवा लगभग ठप्प छ’, डा. सिंहले ने ।
उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान दोहोर्याए । ‘अस्पतालभित्र चिकित्सक कुटिन्छन्, वार्तामा बोलाएर फेरि प्रशासनले नै धम्क्याउँछ भने सुरक्षित वातावरण कसरी हुन्छ ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन’, डा. सिंह भन्छन् ।
यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।
संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न, चिकित्सकलाई सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा। प्रमोद राममाथि कुटपिटतथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।
अहिले डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकले देशव्यापी रुपमा ओपीडी सेवा ठप्प पारेका छन् ।