काठमाडाैं । पार्टीका संस्थापक वीपी कोइरालाको स्मृतिमा नेपाली कांग्रेसमा फरक-फरक कार्यक्रम हुने भएको छ। संस्थापन पक्षले ‘ग्रीन रन’लगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने संस्थापनइतर पक्ष प्रज्ञा भवनमा भेला हुने भएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका हुन्।
संस्थापन पक्षले युएन पार्कदेखि जावलाखेलसम्म ग्रीन रनलगायत कार्यक्रम राख्दा देउवा पक्षले शक्ति प्रदर्शन रणनीति अनुसार प्रज्ञा भवनमै वीपी स्मृति दिवसमा कार्यक्रम राखेका छन्।
विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसक्दा पनि कांग्रेसभित्र मतभेद जारी नै छ। त्यसैले बिपी स्मृतिमा पनि कांग्रेस नेताहरूले फरक फरक कार्यक्रम गर्न लागेका हुन्। उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका मतभेद हल गर्दै लगिने बताए ।
संस्थापनइतर पक्षको नेतृत्व निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्दै आएका छन्।
यो समूहले प्रज्ञा भवनमा कार्यक्रम गर्न लागेकाे छ।
निवर्तमान प्रवक्ता प्रकाशशरण महतका अनुसार ४४औं वीपी स्मृतिमा साउन ६ गते मध्याह्न साढे १२ बजे कमलादीमा ‘विशेष कार्यक्रम’ हुनेछ।