‘सरकारका सय दिन’ अध्यादेशद्वारा ल्याइएका विधेयक संसदबाट पारित गराउने र बजेट निर्माण गर्ने काममा बितेका छन् । तर जनताले तत्कालका लागि आमरूपमा राहत महसुस गर्ने खालका केही काम गर्छ भन्ने आशा पालेर बसेका थिए । जनताले रणनीतिक र दीगो विकासका काम हुँदै गरोस्, बरू आकारमा साना तर तत्काल राहत दिने काम सरकारले गरेको देख्न चाहन्छन् ।
यसका बाबजुद सरकार भने परम्परागत झन्झट र मामलामा नै केही बढी अल्झिएर देखापरिरहेको छ । नयाँ सरकारले पुराना सरकारहरूले यस अघि कायम गरेका विरासतमा केही क्रमभङ्गता चाहेको होला । तर जनताले भने ससाना सुधारका कामहरू पनि बग्रेल्ती अगि बढाइयोस् भन्ने चाहना प्रकट गरिरहेका छन् ।
यसका लागि ‘सुशासन’ र ‘सुधार’ दुबैलाई एकसाथ अघिबढाउनु पर्छ । सरकारले विपक्षीको सातो लिने र विपक्षीले सरकारलाई काम गर्न नदिएर अल्झाइरहने यी दुबै हर्कत नेपाली राजनीतिमा चलिआएका बासी कुरा मात्र हुन् । यिनमा जनताले धेरै दिन पर्खिएर वाहवाही गरिरहन सक्दैनन् ।
सम्पत्ति शुद्धीकरणका अभियान आफैमा राम्रा छन् । तर यी अभियानले हुनेखानेलाई डाइनिङ हलमा बसेर ‘क्या मजा चाख्यो !’ भनेर जिभ्रो फड्कार्दा जति स्वाद र सन्तुष्टि दिन्छ, हुँदाखानेलाई भने यसले ‘कुरो त राम्रै हो तर हाम्रा लागि के ?’ भन्ने प्रश्न उब्जाइरहेको छ ।
यो समस्याको जड रास्वपाको नेतृत्व पङ्क्तिको वर्ग र सरकारका पुगेका सरकारको नेतृत्वको वर्ग अर्थात् ‘हुनेखाने’ वर्गमा निहित छ । नेपालमा धनी त एकादोका छन्, मध्यम वर्ग पनि सानो आकारमा छ । जनसङ्ख्याको ठूलो ठूलो हिस्सा निम्न मध्यम वर्गको छ । यो वर्ग गरिबीको रेखाको ठीक वल्लो र पल्लो किनारमा धङधङी गरेर बाँचिरहेको वर्ग हो ।
अहिले आत्मदाह गर्दै गरेका युवा यही निम्नमध्यम वर्गका हुन् । सरकारले लिएका नीति तथा कार्यक्रमबाट यो पङ्क्ति सन्तुष्ट छैन, भलै उसले रास्वपालाई समर्थन गरेको किन नहोस् । वर्तमान अर्थमन्त्रीले मध्यमलाई धनी र निम्न मध्यम तथा गरीबलाई मध्यम वर्गमा उत्थान गरिने कार्यक्रमहरू ल्याएको घोषणा गरेको केही दिन मात्र बितेको छ । यी कार्यक्रम हुन सक्छन्, निम्नमध्यम वर्गका लागि आशा प्रदान गर्ने कुरा, तर कार्यान्वयनमा ढिलाइ उचित छैन ।
हाल संसदमा उपस्थित प्रतिपक्षी दलहरूले पनि ‘हेर सरकार ! तिम्रा नीति तथा कार्यक्रम राम्रा भएनन्, हाम्रो पालाका नीति तथा कार्यक्रमलाई निरन्तरता देऊ’ भन्ने ख्वाब र हैसियत राखेका छैनन् । त्यसैले ती संसदमा चिच्याउनु आफैमा हास्यास्पद छ ।
त्यसैले सरकार तिम्रा ‘सय दिन’को समीक्षा गर ! हुनेखानेका लागि धेरै भएको भनिए पनि हुँदा खानेका लागि केही पनि भएको अनुभूति छैन । संसदमा रहेका प्रतिपक्षले लछारपाटो नलगाउलान्, तर तिमीहरूले यस अघिको सरकार फालेको सडकबाट हो । अहिले सडक भरिँदै गएको छ, आवाज सडकमा आउन थालेको छ । समयछँदै सरकारका सय दिनको समीक्षा गर ! अपुग र कमीकमजोरी बेलैमा सच्याऊ !