• असार २८ २०८३, आईतवार

गणेश नेपालीको परिवारलाई कांग्रेस नेता बस्नेतले गरे एक लाख रुपैयाँ आर्थिक सहयोग

असार २८ २०८३, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्। सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण आफूले तत्काल नगद १ लाख सहयोग गरेको बताए।

उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिए। नेता बस्नेतले यसअघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए ।

नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेता बस्नेतले सरकारले वास्तविक सुकुमबासीहरूको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए ।

नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रित भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे।