• असार २३ २०८३, मंगलवार

त्रिपाल ओढेको सुशासनको छाता

असार २३ २०८३, मंगलवार

मनसुन सुरू भइसकेको छ । तर माइतिर मण्डलामा पाल टाँगेर बसेकाहरूको मनसुन (मनका कुराको सुनुवाइ) सुरू हुन सकेको छैन । झरी रोकिने छाँट देखिंदैन । तर सरकार माइतिघर मण्डलासम्म आउन पनि रोकिइरहेको छ ।

अझै कैयौं माइल वा सहस्राब्दी नै बाँकी छ कि सिंहदरवार र नेपाली जनताको भेट हुने दिन आउन ! मानिसलाई आशाले डोर्‍याउने हो । अस्तित्वले सुर्‍याउने हो । सरकारको काम अन्याय भएको ठाउँमा न्याय पुर्‍याउने हो ।

त्यसो त वर्तमान सरकारको पहिलो वर्ष ‘सुशासन, सुशासन र फेरि पनि सुशासन’ को आभामा अभिलिप्त छ । यो एक वर्ष सिङ्गो देश सुशासनको छातामुनि घपक्क छोपिएको छ । तर न्याय नपाएका नागरिक त्रिपालमुनि घोप्टिएका छन्, सिंहदरवार अगाडि चौबाटोमा !

न्याय थोकमा पनि हुन्छ होला । तर त्यसको वितरण वैयक्तिक नै हुन्छ । न्यायप्रेमी जनता आत्तिएका छन् र अत्तालिएका पनि ! किनभने न्यायको ढोका पहुँचवालाका लागि मात्र खुले, जो आफैमा सरासर अन्यायका पर्याय थिए ।

भीमदत्त नगरपालिका उल्टाखामकी मृत्युपछि पनि न्याय नपाएकी निर्मलाको बलात्कार र हत्याको फाइल न्यायका लागि खुल्दा सबैको मनमा न्यायको प्रकाश मसम्म पनि आउँछ कि भन्ने आशा पलाउनु अन्यथा होइन । ‘अघाएका’ले डाँडापारि खाउँ र ‘भोकाएका’ले डाँडावारि खाउँ भन्नु स्वभाविकै हो ।

सरकारले पाँच वर्षे कार्यकालभित्र न्याय दिन्छु नभनोस् । एक वर्षको अवधिपछि न्याय दिन्छु पनि नभनोस् । न्याय दिनदिनै र क्षणक्षणै दिन प्रतिबद्ध होओस् । ‘डिले इन जस्टिस् इज इञ्जस्टिस्‌’ अर्थात् ‘न्यायमा ढिलाइ आफैमा अन्याय’ हो ।

मण्डलाको चौबाटोमा टाँगिएको एक त्रिपालमुनि दाङकी ६० वर्षीया रेखा हमाल रातदिन धर्ना बसिरहेकी छन् । उनले आफ्नो छोराको अपहरणपछि हत्या गर्ने व्यक्तिलाई सरकारले आममाफी दिएकाले न्यायका लागि यो सबै गर्नु परेको बताउँछिन् । यद्यपि यो माफी ओली सरकारले आजभन्दा ६ वर्ष अगाडि तात्कालिन राष्ट्रपति भण्डारीमार्फत् दिन लगाएको थियो ।

त्यसै गरी अर्को त्रिपालमुनि कैलालीकी दीपा नेपाली जातीय विभेद र छुवाछूतमाथि प्रश्न उठाउँदै तीन महिना गुजारिरहेकी छिन् । उनले ९ वर्षअघि काठमाडौंमा डेरा खोज्दा भोगेको जातीय विभेद हालसम्म पनि टसमस भएको छैन भनी सरकारलाई प्रश्न सोधिरहेकी छिन् ।

सत्ताधारी पार्टी रास्वपाका अध्यक्ष तथा वर्तमान सरकारले हालसम्म भए गरिएका जातीय विभेदप्रति माफी मागे पनि यो विभेदमा अहिले पनि किन रौंभर फरक आउन सकेन भनी आश्चर्य प्रकट गरिहेकी छिन् । यो आत्मसम्मानको प्रश्न पनि हो ।

योसँगै आफूमाथि बलात्कार भएको भन्दै जमुना ४ महिनादेखि माइतीघर मण्डलमा पालमुनि बसिरहेकी छिन् ।

छेवैमा जाजरकोटकी साराकुमारी शाही बलात्कारविरूद्ध न्यायको लडाइँमा अडिग छिन् । आफू बलात्कृत भएको भनी ७ महिनाकी गर्भवती हुँदा सडकमा धर्ना बसेकी शाही अहिले तीन महिनाको छोरो काखमा लिएर निरन्तर धर्नामा छिन् ।

ललितपुरकी रमिला कार्की सहकारी ठगी र घरेलु हिंसाविरूद्ध त्रिपाल टाँगेर लडिरहेकी छिन् । ‘गाउँगाउँमा सिंहदरवार’ गएको भनिए पनि काठमाडौंको सिंहदरवार अगाडि धर्ना बस्नेको कमी छैन । किनकि कुनै तहको सरकारले पनि न्यायको प्रत्याभूति दिन सकिरहेको छैन ।

त्यै गरी उदयपुरकी पुष्पमाया कार्की वैदेशिक रोजगारी क्रममा ठगी र सामूहिक बलात्कारको मुद्दा लिएर पाँच महिनादेखि मण्डलामा त्रिपाल टाँगेर बसिरहेकी छन् ।

दुर्घटनाको क्षतिपूर्ति माग गर्दै सुनसरीकी देविका खनाल तीन महिनादेखि त्रिपाल टाँगेर चौबीसै घन्टा माइतीघरमै बसिरहेकी छिन् । शायद स्थानीय ‘सिंहदरवार’ले उनको कुरा सुनेन । यहाँ केन्द्रीय सिंहदरवार, प्रादेशिक बाघदरवार र स्थानीय चितुवा दरवारका बिचमा न त समन्वय देखिन्छ, न त सहकार्य नै । तीन तहका सरकार आआफै सिकार गर्ने र पेट भर्ने मामलामा व्यस्त हुन थालेको भान हुन्छ ।

मिटरब्याजी समस्या जस्ताको तस्तै छ । स्थानीय सुदखोरी व्यापक छ । सर्लाहीका उमा र भागनारायण महतो २ महिनादेखि माइतीघर मण्डलमा धर्नारत छन् । सरकार सुशासनको छातामाथि बाध्यतावस खडा गरिएका त्रिपालहरू न्यायपूसङ्त किसिमले हटाऊ !