पेरु । मध्य पेरुमा बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार ९९ किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रविन्दु एन्डिज पर्वतमा रहेको एनिसोबाट ३१ किलोमिटर उत्तरपश्चिममा थियो ।
भूकम्पपछि मानिसहरू सडकमा निस्किए पनि तत्काल कुनै मानवीय क्षति वा भौतिक क्षति भएको विवरण आएको छैन । पेरुको भूभौतिक संस्थाका प्रमुख हर्नान्डो ताभेराले भूकम्प गहिराइमा गएकाले ठूलो क्षति हुन नपाएको बताएका छन् ।
पेरुको भूभौतिक संस्थाले सुरुमा भूकम्पको तीव्रता ७.२ म्याग्निच्युड रहेको जनाएको थियो । पेरु ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्पीय गतिविधि बढी हुने गर्छ ।