काठमाडौं । सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् ।
मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, फलफूल तथा तरकारी व्यवसायी महासंघ र चामल, दाल, तेल व्यवसायी महासंघका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यवसायिक समस्या र गुनासोहरू मन्त्री समक्ष राखेका थिए ।
व्यवसायीका गुनासो सुनेपछि मन्त्री यादवले अहिलेको अनियन्त्रित बजार भाउका कारण सर्वसाधारण नागरिक चरम मारमा परेको उल्लेख गर्दै कुनै पनि बहानामा ढिलाइ नगरी मूल्य घटाउन निर्देशन दिइन् ।
उनले नुन, तेल, चामलदेखि हरियो तरकारीसम्मका अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणलाई सहज बनाउँदै तत्कालै बजारको वास्तविक अवस्था हेरेर भाउ घटाउन आग्रह गरिन् ।
सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको समेत चासो रहेकाले बजारलाई यथाशक्य चाँडो उपभोक्तामैत्री बनाउन मन्त्रालय लागिपर्ने उनको भनाइ थियो । मन्त्रीको निर्देशन र बजारको वस्तुस्थितिलाई बुझ्दै बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले पनि यस विषयमा सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उद्योगी तथा व्यवसायीले आम उपभोक्तालाई राहत दिने गरी बजार मूल्य घटाउने कार्यमा सरकारलाई पूर्ण सहयोग गर्ने र आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।