• असार १० २०८३, बुधबार

महाधवेशनका अतिथिहरूमाथि खगेन्द्रले दिएकाे अभिव्यक्तिप्रति कांग्रेसकाे आपत्ति, कारबाहीको माग

असार १० २०८३, बुधबार

चितवन । नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटनसत्रमा आमन्त्रित विशिष्ट अतिथिहरूप्रति गरिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

७ असारमा चितवनको गेस्टहाउस चौरमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशन उद्घाटनसत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।

कांग्रेस चितवनले जारी गरेको प्रेस विज्ञप्तिमा ती नेताहरूले महाधिवेशनको सफलताको शुभकामना दिँदै राजनीतिक दलहरूबीच सद्भाव र लोकतान्त्रिक आचरणको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा रास्वपाका सांसद खगेन्द्र सुनारले आमन्त्रित अतिथिहरूप्रति दिएको अभिव्यक्ति नेपाली समाजको ‘अतिथि देवो भवः’ भन्ने मान्यताको अपमान भएको आरोप लगाइएको छ । अतिथिहरूलाई सम्मान गर्नुपर्ने नेपाली संस्कारविपरीत आतंककारी र बलात्कारीजस्ता शब्द प्रयोग गरेर गालीगलौज गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने कांग्रेस चितवनको भनाइ छ ।

कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट जनताको उल्लेख्य समर्थन प्राप्त गरेको दलका सांसदबाट यस्तो व्यवहार हुनु रास्वपा र त्यसका नेतृत्वका लागि दुर्भाग्यपूर्ण र लज्जास्पद विषय भएको जनाएको छ ।

नेपाली कांग्रेस चितवनले उक्त घटनाप्रति घोर भर्त्सना गर्दै रास्वपालाई सांसद सुनारमाथि आवश्यक कारबाही गर्न, पार्टी अनुशासन कायम गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन अनुरोध गरेको छ ।

साथै, अतिथिको सम्मान र राजनीतिक मर्यादाको रक्षा गर्नु सबै राजनीतिक दलको साझा दायित्व भएको उल्लेख गर्दै सरकार र राज्यका सम्बन्धित निकायले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेस चितवनले जनाएको छ ।