• असार १० २०८३, बुधबार

गुटगत मानसिकता र व्यक्ति-केन्द्रित सोचले संगठनात्मक एकतालाई चुनौती दियाे : लामिछाने

असार ९ २०८३, मंगलवार

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् ।
पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् ।

दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ।

‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति, गुटगत मानसिकता, व्यक्तिगत प्रभाव विस्तारको प्रवृत्ति र व्यक्ति-केन्द्रित सोचले संगठनात्मक एकता र विश्वासलाई चुनौती दिइरहेको छ’ रविले भनेका छन् ।

त्यसका लागि वैचारिक स्पष्टता, विधिमा आधारित नेतृत्व विकास र प्रभावकारी संगठनात्मक संरचना आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

उनले केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी, उत्तरदायित्व र अनुशासनमा आधारित संगठन निर्माणमा चुनौती देखिएको स्वीकार गरेका छन् ।

पार्टीभित्र नयाँ र पुरानो समूहको नाममा हुने प्रतिस्पर्धा, गुटगत मानसिकता र व्यक्तिगत प्रभाव विस्तार गर्ने प्रवृत्तिले संगठनात्मक एकता कमजोर बनाएको दस्तावेजमा उल्लेख छ।

दस्तावेजमा प्रारम्भिक योगदानका आधारमा विशेष अधिकार खोज्ने तथा सम्भावित प्रतिस्पर्धी वा सक्षम व्यक्तिलाई पार्टीमा प्रवेश गर्न निरुत्साहित गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइएको छ। समूहगत संरक्षणवादले योग्य र प्रतिबद्ध सदस्यहरूलाई पछि पार्न सक्ने जोखिम रहेको उल्लेख गर्दै पार्टीले यसलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

संगठन व्यक्ति केन्द्रित नभई विधि र प्रणालीमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । नियमित संवाद, प्रशिक्षण, मार्गदर्शन र राजनीतिक संस्कार निर्माणलाई संगठनको मुख्य जिम्मेवारी बनाउनुपर्ने प्रस्ताव दस्तावेजमा गरिएको छ।

महाधिवेशनपछि ‘पूर्व समूह’ वा निजी स्वार्थका आधारमा नेतृत्व खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने रविको धारणा छ ।