• असार ९ २०८३, मंगलवार

केन्द्रिय सदस्य बन्न गुटबन्दी नगर्न कार्कर्तालाई लामिछानेको चेतावनी

असार ९ २०८३, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने बताएका हुन् ।

‘साथीहरू हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । फरक आउँदैन,’ लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’

हिजोको शैलीले फरक परिणाम निकाल्ने दिवास्वप्न कसैले नसोच्न उनले आग्रह गरे ।
उनले गलत मनशायका साथ प्रतिनिधि ल्याइएको हुनसक्ने पनि आशंका व्यक्त गरे । ‘यदि गलत तरिकाले कसैले तपाईँलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यही रोक्नुस् । कसै मित्रले यहाँ सम्म महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने ।

जसले जिते पनि घण्टीबाहक जित्छ भन्ने आफूलाई विश्वास रहेको बताउँदै उनले आफू कसैको पक्षमा नरहेर ‘आइसोलेट’ बसेको पनि दाबी गरे ।

केन्द्रीय समितिमा जाने मानिस विवेकपूर्ण रूपमा छनोट गर्न महाधिवेशन प्रतिनिधिलाई उनले आग्रह गरे ।

‘गलत प्रवृत्तिको सानो बीउ रोपिन्छ भन्ने चिन्ता छ मलाई,’ उनले भने ।

पार्टीभित्र केही अफवाह सुनेको पनि उनले बताए । सँगै अरू कसैले भोट हाल भनेका आधारमा नदिन पनि उले आग्रह गरे ।

‘तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर, यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।’