बझाङ । महिला सशक्तीकरण सीपमूलक कार्यक्रम अन्तर्गत “स्थानीय सीप र उत्पादनको प्रोत्साहन गरौँ” भन्ने मूल नारासहित दुना–टपरी सीप विकास ७ दिने तालिम सम्पन्न भएको छ ।

महिलाहरूको आर्थिक सशक्तीकरण, स्थानीय सीपको संरक्षण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले बित्थडचिर गाउँपालिका वडा नं. ९ द्वारा सञ्चालन गरिएको दुना–टपरी सीप विकास तालिम गरिएको हो ।

आर्थिक वर्ष २०८२र०८३ को महिला सशक्तीकरण सीपमूलक कार्यक्रम अन्तर्गत उक्त सातदिने तालिममा वडा नं. ९ का २६ जना महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तालिममा स्थानीय रूपमा उपलब्ध मालु तथा चिउराका पातबाट वातावरणमैत्री दुना–टपरी उत्पादन गर्ने सीप, उत्पादन व्यवस्थापन तथा व्यवसायिक सम्भावनाबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
सात दिने दुना–टपरी तालिमका प्रशिक्षक भावना पुलामी मगरले सहभागीहरूलाई स्थानीय स्रोत–साधनलाई आयआर्जनको माध्यममा रूपान्तरण गर्ने सीप सिकाउँदै ग्रामीण क्षेत्रमा पनि घरेलु तथा साना उद्योगमार्फत आर्थिक अवसर सिर्जना गर्न सकिने विषयमा प्रशिक्षण दिएकी थिइन् ।
तालिम समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी मल्लले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक कार्यक्रम अत्यन्त आवश्यक रहेको बताइन् । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सहभागी महिलाहरूलाई आग्रह गरिन् ।
‘सीप भनेको जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो सम्पत्ति हो। तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न सक्नुभयो भने यसले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै समाजमा महिलाको नेतृत्व र आत्मविश्वाससमेत बढाउँछ। स्थानीय स्रोतको उपयोग गरी उत्पादनमुखी कार्यमा लाग्न सके महिलाहरू आत्मनिर्भर बन्ने मात्र होइन, गाउँको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।’
उनले गाउँपालिकाले आगामी दिनमा पनि महिलाहरूको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार सिर्जनाका कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष हरिश्चन्द्र जोशीले महिलाहरूलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउँदै दुना–टपरी उत्पादनलाई भविष्यमा घरेलु तथा साना उद्योगको रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए। उनले स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत महिलाहरूलाई आर्थिक गतिविधिसँग जोड्नु वडाको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे ।
तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवहारमा लागू गरी स्वरोजगार र आयआर्जनको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गर्दै क्षमता विकासको अवसर प्रदान गरेकोमा वडा कार्यालय तथा गाउँपालिकाप्रति धन्यवाद व्यक्त गरेका थिए।
स्थानीय सीप, श्रम र उत्पादनको प्रवर्द्धनमार्फत आत्मनिर्भर समाज निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले महिलाहरूमा नयाँ उत्साह, आत्मविश्वास र उद्यमशीलताको भावना जागृत गरेको छ। वातावरणमैत्री उत्पादनको प्रवर्द्धन, स्थानीय स्रोतको सदुपयोग तथा महिला सशक्तीकरणलाई एकसाथ जोड्न सफल यस कार्यक्रमलाई वडा नं.९ मा उदाहरणीय पहलका रूपमा हेरिएको छ।
‘सीपबाट उत्पादन, उत्पादनबाट आयआर्जन र आयआर्जनबाट आत्मनिर्भरता’ भन्ने सन्देशका साथ सम्पन्न यस तालिमले महिलाहरूको उज्ज्वल भविष्य निर्माणतर्फ महत्वपूर्ण कदम चालेको विश्वास गरिएको छ।




