• असार ७ २०८३, आईतवार

कोशीका कानुन मन्त्री पराजुलीको क्वार्टरमा प्रहरी छापा, छानविन गर्न एमालेकाे माग

असार ७ २०८३, आईतवार

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको क्वार्टरमा प्रहरीले छापामार शैलीमा गरेकाे खानतलासीकाे विषयमा सत्तारुढ दल नेकपा एमालेले छानविन गर्न माग गरेकाे छ ।

आइतबार बसेको कोशी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री एवं एमाले सांसद राम रानाले प्रदेशमा आफ्नै मन्त्रालय मातहत रहेको प्रहरीले मन्त्रीकै निवासमा छापा मार्नु गम्भीर विषय भएको भन्दै छानविन गर्न माग गरेका हुन् ।

पराजुली कामविशेषले जिल्ला बाहिर रहेको अवस्थामा असार ४ गते राति मन्त्री क्वार्टरमा प्रहरी प्रवेश गरेर खानतलासी गरेकाे थियाे । मन्त्री निवास भएको जान्दा जान्दै प्रहरी टोली पुगेर खानतलासी गर्नु गम्भीर विषय भएको रानाले बताएका थिए ।

‘आन्तरिक मामिला मन्त्रालय यहाँबाट प्रहरी हेर्ने मन्त्रालय हो, जो मन्त्रीले सम्बन्धित क्षेत्र हेर्नुहुन्छ, सम्बन्धित मन्त्रीकै कोठामा छापामारशैलीमा जानुपर्ने र खातलासी गर्नुपर्ने के आइलाग्यो ?,’ उनले भने,‘ त्यही क्षेत्र हेर्ने मन्त्रीको छापा मार्नुपर्ने कारण प्रष्ट हुनुपर्याे, होइन भने यसलाई स्पष्टीकरण दिनुपर्ने अवस्था देख्छौं ।’

मध्यरातमा छापा मार्नु आपत्तिजनक रहेकाे बताउँदै उनले भने,‘सरकारले पनि यसबारेमा स्पष्ट हुने हुनुपर्छ, सरकारी निर्णयबाटै स्पष्टीकरण लिने कामको व्यवस्था होस भन्ने सल्लाह दिन चाहन्छु ।’
गत असार ४ गते राति प्रहरीको एक टोली विनोद भट्टराई नामक व्यक्तिको खोजी गर्ने क्रममा मन्त्री क्वार्टर पुगेको थियो । भट्टराई पहिले सोही भवनमा बस्ने गरेका कारण उनी त्यहाँ लुकेको हुनसक्ने आशंकामा प्रहरी टोली पुगेको थियाे । तर, नभेटेपछि प्रहरी फर्किएकाे थियाे । भट्टराई कुटपिटकाे घटनामा संलग्न रहेकाे प्रहरीले बताएकाे छ ।