• असार ६ २०८३, शनिबार

नेपाल भूराजनीतिको चपेटामा पर्यो : नेता वर्षमान पुन

असार ६ २०८३, शनिबार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन अनन्तले नेपाल भू–राजनीतिक केन्द्रमा रहेको बताएका छन् । पार्टी सम्बद्ध बुद्धिजीवी सङ्गठनको राष्ट्रिय एकता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सो कुरा बताएका हुन् ।

उनले नयाँ र पुराना विश्वशक्ति बिचको तानातानीको बिचमा नेपाल परेको दाबी गरे । विश्व राजनीतिक सन्तुलनमा आउँदै गरेको फेरबदलको प्रभाव नेपालमा परेको उनको भनाइ थियो ।

यस्तो तानातानीबाट नेपाल कसरी अलग रहने भन्नेबारे राष्ट्रिय दृष्टिकोण जरुरी रहेको पुनले औँल्याए । पुनले विश्व राजनीतिको केन्द्र एसियातिर सर्ने क्रममा रहेको र विश्व शक्ति चीन र भारततिर आउँदै गरेको दाबी गरे ।

‘विश्व शक्ति एसियाली भूमितिर सर्दैछ, यो यथार्थ हो । चीन–भारतको वरिपरि विश्वशक्ति आउँदैछ । यसले गर्दा स्वाभाविक रूपले पुरानो शक्ति र नयाँ शक्तिको बिचमा तानातान छ’,पुनले भने, ‘त्यसको केन्द्रमध्ये एउटा केन्द्र नेपाल छ । त्यसमा हामी चाहेर पनि बाहिर बस्न सक्दैनौँ । भूराजनीति हाम्रो हातमा मात्र छैन ।’

सम्भाव्य भू–राजनीतिक परिवर्तनले सृजना गरेको तानातानी वा हस्तक्षेपमा नेपालको आन्तरिक गल्ती वा दोष मात्र जिम्मेवार नरहेको उनले स्पष्ट गरे । यद्यपि भू–राजनीतिक ‘इन्ट्रेस्ट’ हरूमा कसरी डिल गर्ने भन्नेबारे नेपालले सचेतता अपनाउनुपर्ने पुनले बताए ।