• असार ६ २०८३, शनिबार

शक्तिको उन्माद : रविका संगठित अपराध सम्बन्धि सबै मुद्दा फिर्ता

असार ६ २०८३, शनिबार

काठमाडौं : रास्वपा सभापति रवि लामिछाने माथि लगाइएका संगठित अपराधसम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता भएका हुन्।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सुमन खनाललगायतको जाहेरीका आधारमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि निवेदन दायर गरेको थियो।

यसअघि रूपन्देही, पर्सा र कास्की अदालतले समेत संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको सकेको छ । कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणको मुद्दा पनि फिर्ता लिइसकिएको छ।

सबै अदालतहरूमा सहकारी ठगीको मुद्दा यथावत् राखेर अन्य मुद्दा फिर्ता लिइएको हो। संसदीय विशेष छानबिन समितिको प्रतिवेदनको आधार बनाएर रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगीका साथै संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा देशका विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ।

संसदीय विशेष छानबिन समितिले विभिन्न सहकारी संस्थाबाट बचतकर्ताको रकम गोर्खा मिडिया नेटवर्कलगायतका संस्थामा अनियमित रूपमा परिचालन भएको निष्कर्ष निकालेको थियो। रास्वपा लामिछानेसहित चारै जना सहकारीबाट आएको रकम खर्च गर्ने क्रममा बराबरी जिम्मेवारी रहेको देखाउँदै कारबाही सिफारिस गरिएको थियो।