• असार ७ २०८३, आईतवार

व्यावसायिक दक्षता बढाउन पत्रकार महिलाका लागि विशेष तालिम

असार ५ २०८३, शुक्रबार

नेपालगञ्ज । क्रियाशील पत्रकार महिलाहरूका लागि तीनदिने क्षमता अभिवृद्धि तालिम नेपालगञ्जमा सुरु भएको छ।

पत्रकार महिलाहरूको व्यावसायिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, डिजिटल प्रविधि, खोजमूलक पत्रकारिता र आधुनिक लेखन शैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्ने, लैङ्गिक संवेदनशील रिपोर्टिङ तथा सामाजिक समावेशीकरणका विषयमा सीप विकास गर्ने उद्देश्यले उक्त तालिम गरिएको हो ।

सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वय तथा बास नेपालको आयोजनामा सुरु भएको तालिमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले गरेका हुन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईंले वर्तमान समयको आवश्यकता अनुरूप तालिम आयोजना गरिएको बताउँदै यसले पत्रकार महिलाहरूको कार्यक्षमता र व्यावसायिक दक्षता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले महिला पत्रकारहरूको क्षमता विकासका लागि आयोजित तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै यसले सहभागीहरूको आत्मविश्वास र पेशागत दक्षता वृद्धि गर्ने बताए। उनले यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गर्दै तालिमको सफलताको शुभकामना दिए।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार झलक गैरेले व्यावसायिक पत्रकारिताको आवश्यकता बढिरहेको सन्दर्भमा महिला पत्रकारहरूको क्षमता विकासका लागि तालिम आयोजना गरिनु सकारात्मक भएको बताए। उनले पत्रकारितामा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै पत्रकार आचारसंहिताको पालना गर्दै निडर र व्यावसायिक रूपमा पत्रकारिता गर्न आग्रह गरे।

त्यसैगरी कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अक्षरी पोख्रेल तथा अध्यक्ष सावित्री गिरीले पनि पत्रकार महिलाहरूका लागि क्षमता अभिवृद्धि तालिम सुरु गर्न लागेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाको सहभागिता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, समाचारको तथ्य परीक्षण (फ्याक्ट चेक), मिथ्या सूचना तथा मोबाइल पत्रकारितालगायत विषयमा प्रशिक्षक कृष्ण अधिकारी, अक्षरी पोख्रेल र हेमराज भट्टले सहजीकरण गरेका थिए।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्यसहित तालिमको उद्देश्यबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले गरेकी थिइन्।

मोफसलमा कार्यरत महिला पत्रकारहरूबीच व्यावसायिक सञ्जाल र सहकार्यलाई सुदृढ बनाउनेका साथ आयोजना गरिएको तालिममा २५ जना क्रियाशील महिला पत्रकारहरूको सहभागिता रहेको छ। तालिम असार ७ गतेसम्म सञ्चालन हुने बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।तीनदिने क्षमता अभिवृद्धि तालिमको प्रशिक्षकमा रुपमा पत्रकारद्धय अछरी पोख्रेल, कृष्ण अधिकारी रहेका छन् ।