बेइजिङ । चीनले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्याउँदै सुशासन र आर्थिक विकासका प्राथमिकतामा पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यी बीच सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा दुवै पक्षले यी प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे गहन छलफल भएको थियो ।
नेपाली पक्षले ‘एक चीन नीति’प्रतिको आफ्नो प्रतिबद्धता पुन: दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्धका गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको थियो ।
भेटमा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा पार्टी–पार्टीबीचको आदानप्रदान विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
सोमबार नै मन्त्री खनालले चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा उनलाई संस्थानका गतिविधि तथा त्रिभुवन विश्वविद्यालयलगायत नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी गराइएको थियो ।
मन्त्री खनालले विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपाल–चीन सहकार्यलाई अझ गहिरो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।