काठमाडौं : नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन आगमन अझ केही दिन ढिलो हुने सम्भावना छ।
नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने गर्दछ। यस वर्ष नेपालमा हालसम्म मनसुनको आगमन भइसकेको छैन। नेपालमा हालसम्म पनि पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको कारणले विशेष गरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन सहितको मध्यमसम्मको वर्षाको गतिविधि भइरहेको अवस्था छ।
हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ। जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसिया लगायत नेपालको मनसुन कमजोर हुन सक्ने सम्भावना देखिएको छ। विगतका केही वर्षहरूमा पनि एलनिनोका प्रभावले मनसुन आगमन ढिलो भएको थियो।