काठमाडैं । नेपाली भाषा र मगर खाम भाषाबाट सशक्त रुपमा कलम चलाउँदै आएका कवि एवम् गजलकार डी.बी. मगर “स्वेद” को नयाँ गजल संग्रह “सफर” रोल्पाको थबाङमा लोकार्पण भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान काठमाण्डौको आयोजना, रोल्पा कला साहित्य प्रतिष्ठानको सह-आयोजनामा र थबाङ गाउँपालिको मुख्य प्रायोजन तथा रोल्पा नगरपालिका लगायत रोल्पाका सम्पूर्ण गाउँपालिकाहरूको सहयोगमा यही बैशाख १९ र २० गते रोल्पाको ऐतिहासिक गाउँ थबाङमा भएको (प्रगतिशील संगीत उत्सव २०८३) को भव्य समारोहका बीच लोकार्पण गरिएको हो ।
गजल संग्रह लोकार्पण पछि गजलकार डी.बी. मगर “स्वेद” को व्यक्तित्व र उनको कृति सफर माथि साहित्यकार एवम् पत्रकार मौसम रोकाले आफ्ना गहकिला भनाइहरू राख्नु भएको थियो ।
यस भन्दा अघि कवि एवम् गजलकार स्वेदका – एक यात्रा अनेक मोड (गजल २०६८) अङ्कुराए पल्लवी (संयुक्त गजल २०६९) हिमालको ओतमुनी (गजल २०७०) जर्मिसिउ पो (मगर खाम गजल २०७२) दोन्थरा (मगर खाम महाकाव्य २०७९) गरी ५ वटा कृतिहरू पाठक सामु ल्याइसकेका छन् भने निकट समयमै मगर खाम भाषाबाट (सङ्गाति) नामक कविता संग्रह प्रकाशन गर्ने तयारीमा छन् ।
बुवा मनबहादुर बुढामगर र आमा कमला बुढामगरको कोखमा २०५० सालमा थबाङ गाउँपालिका -३ मिरुलमा जन्मिएका स्वेद हाल परिवर्तन गाउँपालिकामा बस्दै आएका छन् भने उनी शिक्षण पेशामा पनि संग्लग्न रहेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा “प्रगति” को सभाअध्यतामा भएको उक्त कार्यक्रमलाई रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोका मगर “हिमाल” ले सञ्चालन गरेका थिए ।
कार्यक्रमको सुरुवातमा यही बैशाख १७ गते जलजला क्षेत्रको जीप दुर्घटनामा परि पुर्वीरुकुम र दाङका २० जना दिवंगत हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती रहेका थिए भने कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य, नगर प्रमुख सुरेन्द्र थापा घर्ती, थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा, परिवर्तन गाउँपालिका अध्यक्ष शुकबहादुर बुढा, प्रगतिशील गायक जीवन शर्मा, प्राज्ञहरु, पालिकाका उपप्रमुखहरु, विभिन्न सराेकारवालाहरु, सुरक्षाकर्मी, साहित्यकारहरू, पत्रकारहरू लगायतको उपस्थिति रहेकाे थियो ।
कार्यक्रममा पत्रकारका तर्फबाट नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष मानसिंह विक, लेखकहरुका तर्फबाट प्रगतिशील लेखक संघका अध्यक्ष श्यामकुमार बुढामगर, प्रगतिशील संगीतकर्मी नारायण शर्मा, प्रगतिशील संगीतकर्मी वीरप्रसाद भन्सारी, आराेह नेपाली, हेमराज आश्रम, उदय श्रेष्ठ, जीवन शर्मा, स्थानीय तहकाे प्रतिनिधित्व गर्दै परिवर्तन गाउँपालिका अध्यक्ष शुकबहादुर बुढा थमन, राेल्पा नगरप्रमुख सुरेन्द्र थापा घर्ती, जिल्ला समन्वय प्रमुख सीता आचार्य, प्रमुख अतिथि तुलाराम घर्ती लगायतले शुभकामना तथा शाेक मन्तब्य दिए ।
प्रगतिशील संगीत उत्सव कार्यक्रममा जनसाँकृतिक महासंघ नेपालका अध्यक्ष भीम कुमाखीले प्रगतिशील गीत संगीतको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने रोल्पा कला साहित्य प्रतिष्ठानका अध्यक्ष जीवन प्रवेश रोकामगरले रोल्पाको प्रगतिशील गीत संगीत र साहित्य बारे कार्यपत्र प्रस्तुत गरेका थिए । दुबैजनाको कार्यपत्र प्रस्तुतपछि कार्यपत्रको बारेमा प्रगतिशील लेखक र कलाकारहरू बीच वृहत् छलफल चलाइएको थियो ।
प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि भनेर २ दिनसम्म चलेको उक्त कार्यक्रममा ख्याति प्राप्त दर्जनौं जनवादी गायक गायिकाहरूले प्रगतिशील गीत संगीत मार्फत कार्यक्रमलाई उत्सवमय बनाएका थिए भने त्यहाँका स्थानीयहरूले आफ्नो संस्कार, संस्कृतिहरू झल्किने खालका मौलिक झाँकीहरू प्रस्तुत गरेका थिए ।