काठमाडाैं । अबदेखि कुनै पनि तालिम केन्द्र र साइबर सेन्टरहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’ भन्दै प्रचार प्रसार गर्न नपाउने भएका छन् ।
यस्ता केन्द्र र साइबर सेन्टरहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भ्रममा पार्ने, रकम असुल्ने र बिचौलियाको रूपमा समेत काम गर्ने गरेको गुनासो बढेपछि यस्तो कार्यमा पूर्ण रूपमा प्रतिबन्ध गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
श्रम गर्ने, वा श्रम शब्दको प्रयोग गरी कुनै पनि प्रचार प्रसार नगर्न र अहिले भइरहेको होडिङ बोर्ड, पर्चा, फ्लेक्स र भित्ते लेखनलगायतका सामग्रीसमेत यही चैत मसान्तभित्र अनिवार्य हटाउन विभागले निर्देशन दिएको छ ।
तोकिएको समयभित्र प्रचार सामग्री नहटाउने व्यवसायी तथा साइबरहरूलाई कानुनअनुसार कारबाही गर्ने भन्दै विभागले सचेतसमेत गराएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको श्रम स्वीकृतिसम्बन्धी कार्य वैदेशिक रोजगार विभाग तथा सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यलयहरूबाट हुन्छ । यी कार्यलयहरूबाट श्रम स्वीकृति लिन अनलाइन फारम भर्नुपर्छ । वैदेशिक रोजगार विभाग ताहाचल कार्यालय परिसर र प्रदेशस्थित श्रम तथा रोजगार कार्यालय छेउछाउ थुप्रै साइबार तथा व्यवसायीहरूले श्रम स्वीकृतिको अनलाइन फारम भरिदिने व्यवसाय नै गर्दै आएका छन् ।
उनीहरूले आफ्नो प्रचार प्रसारका लागि ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी कार्य यहाँ गरिन्छ’ भन्दै प्रचार प्रसारसमेत गर्ने गर्छन् । श्रम स्वीकृतिको प्रक्रियाबारेमा प्रर्याप्त जानकारी नभएका श्रमिकहरूसँग यस्ता साइबर तथा व्यवसायीहरूले चर्को रकम असुल्ने, ‘विभागका मान्छेसँग चिनजान छ’ भन्दै ठगी गर्ने र कतिपय अवस्थामा बिचौलियाकै कार्यसमेत गर्ने गरेको गुनासो पछिल्लो समय बढ्दै गएको छ । यस्ता गुनासो बढ्दै गएपछि विभागले कडाइ गरेको हो ।