• बैशाख १२ २०८३, शनिबार

प्रतिनिधिसभाको पहिलो बैठकमै सभामुख र उपसभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी

चैत्र १७ २०८२, मंगलवार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत १९ गते दिउँसो बस्ने गरी बोलाएको छ।

संसद् सचिवालयसँगको परामर्शपछि मन्त्रिपरिषद्ले चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक राख्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

संसद् सचिवालय र राष्ट्रपति पौडेलबीच पनि यसबारे परामर्श भएको थियो। सरकारको सिफारिससँगै अब राष्ट्रपति कार्यालयबाट संसद् आह्वानको सूचना आउनेछ ।

सरकारको निर्णयपछि राष्ट्रपति पौडेलले बैठक आह्वान गरेको पत्र पठाएलगत्तै सर्वदलीय बैठक डाक्ने तयारी सचिवालयले गरेको छ। राष्ट्रपति कार्यालयको पत्रको आएपछि संसद्का सबै ६ दलको बैठक राखिनेछ।

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सकिएको ३० दिनभित्र संसद्को पहिलो बैठक बोलाउनुपर्छ । राष्ट्रपतिले संसद्को पहिलो बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

कार्यव्यवस्था परामर्श समिति गठन नभएकाले संसद् सचिवालयले सबै दलहरूलाई प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाउने तयारी गरेको छ।

प्रतिनिधिसभाको पहिलो बैठकमै सभामुख र उपसभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ।

त्यो बैठकबाटै सभामुख र उपसभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी पार्टीले गरिरहेको शीर्ष तहले जानकारी दिएको छ।

‘पहिलो बैठकबाटै सभामुख र सभामुख चयन प्रक्रियाको एजेन्डा अगाडि बढाइन्छ’, पार्टी स्रोतले भन्यो,‘त्यही बैठकमा प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनको प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौं।’

संविधानको धारा ९१ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र चयन गर्नुपर्ने प्रावधान छ ।

सभामुख र उपसभामुख चयन भइनसकेकाले संसदको जेष्ठ सदस्यले प्रतिनिधिसभाको बैठकलाई सञ्चालन गर्नुपर्ने हुन्छ ।
यसपटकको प्रतिनिधि सभाको बैठक जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सञ्चालन गर्दैछन् ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ । दलगत सहमति जुटाउँदा सभामुख र उपसभामुख फरक पार्टीको राखिँदै आएको अभ्यास भने देखिन्छ । यसपटक रास्वपाले पनि सभामुख र उपसभामुख प्रतिपक्षी दललाई दिने गरि छलफल सुरु गरेको छ । तर यसबारे पार्टीका नेताहरू छलफलमै रहेकाले यसै भन्न सकिने अवस्था नरहेको बताउँछन्।