काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका युवा नेता धनबहादुर मास्की ‘राजेश’ले बालेन साहको नेतृत्वमा बनेको सरकारप्रति सफलताको शुभकामना व्यक्त गरेका छन् ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा दाङ जिल्लाको क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उमेदवार बनेर पराजय भएपछिको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले बालेन नेतृत्वको सरकारलाई शुभकामना दिएका हुन् ।
दाङ—३ मा आफूले विजय हासिल गर्न नसकेपनि विजयी भएका रास्वपाका सांसदले दाङको समग्र क्षेत्रको विकास गरुन् भन्ने आफ्नो मनसाय रहेको नेता मास्कीको भनाई रहेको छ ।
घरेलु राजनीतिमा सबै दलहरुको चुनावी नतिजाको समिक्षा गर्दै नेता मास्कीले देशभर पुराना र ठूला भनिएका दलहरुको पराजयले जनताले प्रत्यक १०, १२ वर्षमा मत परिवर्तन गर्ने गरेको इतिहास रहेको र यसपालिपनि सोही इतिहास दोहोरिएको बताए ।
उनले ३६ साल, ४६ साल, ५२ साल, ६२, ६३ साल र संविधानसभाबाट संविधान बनेको इतिहासको समिक्षा गर्दै यी सबै समयमा जनताले परिवर्तनको अपेक्षासहित आफ्नो मत व्यक्त गरेको नेता मास्कीको बुझाई रहेको छ ।
मास्कीले यसपालिको जनताले गरेको मत परिवर्तनलाई जनयुद्ध र जनआन्दोलनबाट गणतन्त्र र संघात्मक व्यवस्था स्थापना भएपनि जनताका दैनिक समस्याहरुको उचित समाधान गर्न नसक्दा व्यवस्था नै असफल हुने दिशातिर देश गएको भन्दै चिन्ता व्यक्त गरे ।
विश्व राजनीतिको चर्चाको एक प्रसंगमा उनले बालेन र रविलाई देशलाई युक्रेन हुनबाट जोगाउन आग्रह पनि गरे ।
उनले आजको साम्राज्यवादको चरित्र भेनेजुयला र इरानमा देखिएको भन्दै सम्पूर्ण देशभक्तहरु एक ठाउँमा आएर विदेशी हस्तक्षेपको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।