• चैत्र ७ २०८२, शनिबार

वास्तवमा गरिबी छ कि, अकृतज्ञता ?

चैत्र ६ २०८२, शुक्रबार

पृष्ठभूमि
हामीलाई यो बुझ्न अति आवश्यक भइसकेको छ कि वास्तवमा गरिबी छ कि अकृतज्ञता छ । आखिर गरिबीको परिभाषा के छ होला त ? यो बुझ्यौं भने वास्तविकतालाई बुझ्न सजिलो हुनेछ । हालको समाजलाई हेर्ने हो भने यहाँ मुख्य रूपमा चार वर्ग छन्‌–अति उच्च वर्ग, उच्च वर्ग, मध्यम वर्गीय र निम्न वर्ग । समाजलाई वर्गीय रूपमा हेर्दा अति उच्च वर्ग संख्यामा सानो भए पनि अत्यन्त प्रभावशाली हुन्छ ।

यसको हातमा धन, शक्ति, सम्पत्ति, राजनीतिक प्रभाव र सामाजिक प्रतिष्ठा केन्द्रित रहन्छ । यस वर्गले नीति, अर्थतन्त्र तथा देश–विदेशका शक्ति संरचनामा निर्णायक भूमिका खेल्छ । उच्च वर्गमा धन, सम्पत्ति र सामाजिक हैसियत भएका, ठूलो व्यवसाय, उद्योग वा पूँजीका मालिक व्यक्ति पर्दछन्, जसले सामाजिक र आन्तरिक राजनीतिक निर्णय प्रक्रियामा प्रभाव राख्ने क्षमता राख्छन् । मध्यम वर्ग समाजको आधारस्तम्भ मानिन्छ ।

जो शिक्षा, नोकरी, पेशा र मेहनतमा आधारित आयमा निर्भर रहन्छ । राजनीतिक फेरबदलसँग प्रत्यक्ष सरोकार कम राख्छ र सामाजिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसमा कर्मचारी, व्यापारी, शिक्षक, पत्रकार र स्वास्थ्यकर्मी पर्दछन् । निम्न वर्ग भने सीमित स्रोतसाधन, कम आय र श्रममा आधारित जीवन यापन गर्ने मजदुर, किसान र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरूलाई समेट्ने वर्ग हो । जसको जीवनस्तर कमजोर र अवसरमा पहुँच कम हुन्छ । अब मुख्य विषय अर्थात् गरिबीको बारेमा कुरा गरौं । आजभोलि मानिसहरुले गरिबीको चर्चा बढी गर्छन् । के साँच्चिकै गरिबी भनेको त्यही नै हो जुन अहिले परिभाषित छ वा भाष्य भन्दा केही फरक छ भनी बुझ्न जरुरी छ ।
उहिले
हाम्रा अभिभावकका लागि सधै दुईछाक खाना हुँदैन थियो धेरैजसो एक छाक मात्र खान्थे । घरमा राति उज्यालोको लागि बालिने लालटिन र टुकी अबेर राति काम सकेपछि तेल बचाउनका लागि निभाइ दिन्थे । ओढ्ने ओछ्याउने तन्ना सिरक गन्तीका मात्र हुन्थे ।
एउटै सिरकमा पूरा परिवार ओढ्थे र सिरक तान्दा बच्चालाई चिसो नलागोस् भनी आमा बुवा बच्चाहरुको छेउ र किनारमा सुत्थे । एक एकजोर चप्पल जुन कि इद, दशै वा होलीमा किन्थे वर्ष भरि त्यसमा फित्ता र मोमबत्तीले जोडेर लगाउन्थे । कपडा पनि सबैका लागि वर्षमा एक पटक दशै, इद र होलीकै बेला सिलाइन्थ्यो । त्यो पनि यस्तो कपडा जसको टुक्राटाक्रीलाई जोडेर साना भाईबैनीको कपडा बनिहालोस् ।

मनोरञ्जनका लागि कहिलेकाहीँ वर्षमा एक पटक नजिकै लाग्ने मेलामा घुमाउन लगिन्थ्यो । आफन्त नातागोता साथीभाई इष्टमित्र जसको घरमा बिहे, भोजभतेर, मुन्डन र अकिका जे भए पनि त्यही पर्वमा सिलाइदिएकै एकजोर लुगा र एकजोर चप्पल लगाएर जाने गरिन्थ्यो । विद्यालय पढ्दा एक रुपैयाँमा आउने लालीगुराँस उत्तरपुस्तिका किन्न पनि सोच्नु पर्थ्यो । लेख्ने सिसाकलम यति सानो भहाल्थ्यो कि त्यसको खोलमा हालेर ठुलो गराइ लेखिन्थ्यो नयाँ सिसाकलम किन्न धौ धौ हुन्थ्यो ।

विद्यालयमा लग्ने खाजा राख्ने भाँडो हुन्थेन । पोलिथीनमा वा कागजमा बेरेर लग्ने गर्थे । आफूसँग धनको नाममा खल्तीमा केही गुच्चा, गट्टक (ढुङगाका साना टुक्रा), कोकपेप्सीका ढक्कन र अभिभावकले दिएका आठ आना, एक रुपैयाँ बढीमा दश रुपैयाँ हुन्थ्यो । अनि सबै त्यतिकैमा खुशी हुन्थे । कसैले यो भन्दैनथ्यो कि म गरिब छु वा फलानो गरिब छ । सबै एकजुट भएर एक अर्काको सुखदुःख साथ हुन्थे । मनुष्यको रुपमा निरोगी र हृष्टपुष्ट जीवन दिने ईश्वरको कृतज्ञ हुन्थे ।
अहिले
अधिकांश घरमा अभिभावकले दैनिक मासु र माछा नदिए पनि दालभातको साथमा तरकारी र अचारको व्यवस्था गरेकै हुन्छन् । घरमा राति उज्यालोको लागि विद्युत लाइन जडान छ । अधिकांश घरमा त झिलिमिली लाइट समेत रातिभरि बालेर सुत्छन् । ओढ्ने ओछ्याउने तन्ना सिरक व्यक्तिपिच्छे छुट्टाछुट्टै छन् । यहाँसम्म कि गर्मीमा ओढ्ने र चलाउने पंखा कुलर पनि छुट्टै छन् । चप्पल जुत्ता त कपडाको रंग र डिजाइन अनुसार फरक फरक छन् ।

अनि कपडा मौसम र पार्टी अनुसार फरक फरक छन् । अहिले त हरेक इवेन्ट र पर्वका लागि छुट्टै कपडा सिलाइन्छ त्यो पनि ट्रेन्डमा रहेको डिजाइनमा । मनोरञ्जनका लागि हातहातमा मोबाइल छ । घरघरमा टेलिभिजन र रेडियो छ । टोलटोलमा सिनेमाघर छ । वार्डवार्डमा चिल्ड्न पार्क र व्यायामशाला छन् । बच्चाहरुसँग भिडियो गेम छ विभिन्न इलेक्ट्रोनिक खेलौना छन् । विद्यालयमा पढ्न जाँदा अनेक रंगका कलम पेन्सिल ज्यामेट्रीबक्स विभिन्न रंगीबिरंगी किताब कापी हुन्छन् । लन्चबाक्स हुन्छन् । व्यक्तिपिच्छे खल्तीमा हजारौं रुपैयाँको एन्ड्रोइड मोबाइल छ मोबाइल ब्यालेन्स छ । तर पनि अहिले मानिस खुशी छैन् । जसलाई हेर्यो उसले भन्छ म त गरिब मान्छे हुँ वा फलाना त गरिब रहेछ । हरेक मानिस असन्तुष्ट छ । अब बुझ्न जरुरी छ कि आखिर यसको कारण के हो त ।
कारण
कारण एउटै छ अहिले मानिसमा कृतज्ञता छैन, जसले गर्दा ऊ सन्तुष्ट छैन । अहिलेको समाजमा मानिसहरूमा असन्तुष्टि र इर्ष्या छ । मानिसहरु एकअर्कासँग प्रतिष्पर्धा गर्न थालेका छन् । देखासिकी गर्नका लागि भौतिक सुविधा, प्रविधि र साधनहरू पछाडि भाग्न थाले । यही भागदौडमा मनको शान्ति कता हरायो थाहै पाएनन् । मनुष्यको असिमित चाहना र अपेक्षाले मानिसलाई अकृतज्ञ नै बनाइदियो ।

जसले गर्दा मानिस एक लक्ष्य हासिल गरेपछि अर्को ठूलो चाहनातर्फ दौडिन थाल्यो । जसले फलस्वरूप मनमा सन्तुष्टि टिक्दैन । त्यसैगरी सामाजिक सञ्जाल पनि मानवीय असन्तुष्टिको ठूलो कारण बन्न पुगेको छ । वर्गीय भिन्नताका कारण आर्थिक असमानता त थियो नै । तर अहिले सामाजिक संजालमा देखिने कन्टेन्ट क्रिएटर, इन्फ्लुयेन्सर र सेलिब्रेटीहरुको जीवनसँग आफ्नो जीवन तुलना गरी आफूभित्र हीनभावना, इर्ष्या र असन्तोष पैदा हुन थाल्यो ।

हाल बेरोजगारी, बढ्दो महँगी र भविष्य चिन्ताले मनुष्यको मानसिक सन्तुलन बिगारिदिएकोछ । आज अधिकांश मानिसहरू अनिद्रा, र एन्जाईटी र डिप्रेसनका सिकार भइसकेका छन् ।
निष्कर्ष
यसको मुख्य कारण मनुष्य आध्यात्मिकता र नैतिक मूल्यमान्यताहरूबाट टाढा हुनु हो । आध्यात्मिक शिक्षाले मनुष्यलाई कृतज्ञता सिकाउँछ । नैतिक मूल्यमान्यताहरुले मनुष्यलाई सन्तुष्ट रहन र एक अर्काको परिस्थिति बुझ्न सिकाउँछ । यसर्थ अबको बालबालिका र युवा पिढीलाई आध्यात्मिक शिक्षा र नैतिक मूल्यमान्यता सिकाउनु अति आवश्यक भइसकेको छ ।