• चैत्र ३ २०८२, मंगलवार

श्रीराम ग्यास उद्योगलाई नगद ३ लाख रुपैयाँ जरिवाना

चैत्र २ २०८२, सोमबार

काठमाडाैं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगलाई नगद ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा विभागको टोलीले उक्त उद्योगले बदमासी गरेको फेला पारेपछि ‘अन द स्पट’ नगद जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को खण्ड (छ) बमोजिम कसुर गर्दै सोही ऐनको दफा १६ को उपदफा १ विपरीतको कार्य गरेको आधारमा नगद कारबाही गरेको विभागले जनाएको छ ।

केही दिनयता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव रहेको भन्दै उपभोक्ताहरूमा हाहाकार मच्चिएको छ ।

यस्तो विषम परिस्थितिमा उद्योगी, व्यवसायी र बिक्रेताहरूले ग्यास लुकाउने, बढी मूल्य लिने गरेको आरोप लागिरहेको छ । यस्तो अवस्थामा उक्त कम्पनीले गलत गरेको पाइएपछि विभागले कारबाही गरेको हो ।

यस्तै, विभागले उपभोक्ता हित संरक्षण ऐनविपरीत कार्य गर्ने बडिमालिका खाद्य भण्डार, मैतिदेवीलाई नगद १५ हजार रुपैयाँ र कीर्तिपुरस्थित दुवाडी स्टोर एन्ड मल्टी ट्रेडलाई ५ हजार नगद जरिवाना गरिएको विभागले जनाएको छ ।