• बैशाख १७ २०८३, बिहीबार

साउदीस्थित अमेरिकी एयरबेसमाथि भिषण हमला, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

फाल्गुन ३० २०८२, शनिबार

काठमाडौं । पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गइरहेको छ । अमेरिका र इजरायलको भीषण आक्रमणविरुद्ध इरानले पनि जोडदार प्रत्याक्रमण गरिरहेको छ ।

मिसाइल र ड्रोनको गर्जनकाबीच यो संघर्ष अब १५औँ दिनमा प्रवेश गरिसकेको छ । पूरै क्षेत्रमा तनाव छ ।

यसैक्रममा इरानले साउदी अरबमा रहेको अमेरिकी एयरबेसमाथि आक्रमण गरेको बताइएको छ, जसमा अमेरिकी वायुसेनाका धेरै विमान क्षतिग्रस्त भएका छन् ।
इरानले साउदीको प्रिन्स सुल्तान एयर बेसलाई पनि निसाना बनाउँदै भीषण बमबारी गरेको बताइएको छ । यसबाट पार्किङ गरिएका अमेरिकी वायुसेनाका पाँचवटा रिफ्युलिङ (तेल भर्ने) विमान क्षतिग्रस्त भएका छन् ।

स्रोतका अनुसार, विमानहरू पूर्ण रूपमा नष्ट भने भएका छैनन् । तिनलाई मर्मतका लागि पठाइएको छ । अहिलेसम्म हमलामा कोही घाइते भएको वा मृत्यु भएको खबर आएको छैन ।

यसअघि, पश्चिमी इराकमा एउटा अमेरिकी केसी–१३५ विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।

यस्तै, मार्च १ मा कुवेतमा तीनवटा अमेरिकी एफ–१५ लडाकु विमानहरू ‘फ्रेन्डली फायर’का कारण खसेका थिए । तर सबै चालक दलका सदस्य सुरक्षित रहे ।

रिपोर्टहरूका अनुसार, कुवेतको एउटा एफ–१८ विमानले भुलवश यी एफ–१५ विमानहरूलाई खसालिदिएको थियो ।