काठमाडौं । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले अमेरिकाको शक्तिशाली युद्धपोत यूएसएस अब्राहम लिंकनमाथि हमला गरेको दाबी गरेको छ ।
रिभोलुसनरी गार्डले विज्ञप्ति जारी गर्दै आफ्नो एउटा ब्यालिस्टिक मिसाइलले अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकनलाई निशाना बनाएको दाबी गरेको छ ।
‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’को भनाइमा यो हमलाका कारण युद्धपोत काम गर्न सक्ने अवस्थामा नरहेको र उसले खाडी जलक्षेत्रबाट पछि हट्नु परेको छ । यद्यपि, अमेरिकाले यो दाबीलाई अस्वीकार गरेको छ ।
इरानको दाबी के छ ?
इरानले एक विज्ञप्ति जारी गर्दै एउटा सटिक मिसाइल र ड्रोन हमलाले अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकनलाई निशाना बनाएको बताएको छ । इरानले ओमानको जलक्षेत्रमा युद्धपोतमाथि हमला गरिएको जानकारी दिएको छ, जुन इरानको समुद्री सीमाबाट करिब ३४० किलोमिटर टाढा छ ।
इरानको सरकारी सञ्चारमाध्यमले हमलापछि अमेरिकी युद्धपोत र उसको ‘स्ट्राइक ग्रुप’पछि हटेको बताएको छ । यद्यपि, यस दाबीको पक्षमा इरानको सरकारी सञ्चारमाध्यमले कुनै थप जानकारी वा प्रमाण उपलब्ध गराएको छैन ।
अमेरिकाले के भन्यो ?
अमेरिकाले इरानको दाबीलाई पूर्णरूपमा खारेज गरिदिएको छ । ‘यूएस सेन्ट्रल कमान्ड’ले यूएसएस अब्राहम लिंकनको एउटा तस्बिर साझा गर्दै अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप, ‘अपरेसन एपिक फ्युरी’मा निरन्तर सहयोग गरिरहेको बताएको छ ।