• बैशाख १२ २०८३, शनिबार

सुरक्षाको कारण देखाउँदै जापानका ४० कम्पनीहरूमाथि चीनले लगायाे प्रतिबन्ध

फाल्गुन १२ २०८२, मंगलवार

काठमाडौं । चीनले राष्ट्रिय सुरक्षाको हवाला दिँदै जापानका ४० कम्पनीहरूमाथि निर्यात प्रतिबन्ध लगाएको छ । मंगलबार बेइजिङले अब यी जापानी कम्पनीहरूलाई दोहोरो प्रयोग (सैन्य र नागरिक) मा आउने कुनै पनि सामान नबेचिने बताएको छ ।

प्रतिबन्धको दायरामा राखिएका कम्पनीहरूमा मित्सुबिसी हेभी इन्डस्ट्रिज र जापानको अन्तरिक्ष एजेन्सी पनि रहेका छन् । साथै, चीनको वाणिज्य मन्त्रालयले अन्य २० जापानी कम्पनीहरूलाई निगरानी र समीक्षाको दायरामा राखेको छ ।

यी कम्पनीहरूलाई बेचिने चिनियाँ सामानको निर्यातअघि गहन समीक्षा गरिनेछ । विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका यी दुई देशबीच विगत १०–१५ वर्षदेखि मतभेद गहिरिँदै गएको छ ।

चीनले आफ्ना लडाकु विमानमार्फत बारम्बार आफ्नो वायुक्षेत्रको उल्लंघन गरिरहेको आरोप जापानले लगाउँदै आएको छ । नोभेम्बर २०२५ मा जापानकी प्रधानमन्त्री सनाए ताकाइचीले यदि चीनले ताइवानमाथि हमला गरेमा जापानले हस्तक्षेप गर्न सक्ने बताएकी थिइन् ।

सनाएको उक्त बयानपछि चीनले जापानविरुद्ध विभिन्न किसिमका कदमहरू चालिरहेको छ । चीनले आफ्ना नागरिकहरूलाई जापान नजान चेतावनी समेत दिएको छ । यो चेतावनीपछि जनवरी २०२६ मा जापान आउने चिनियाँ पर्यटकहरूको संख्यामा ६१ प्रतिशतले गिरावट आएको छ ।

जापानलगायत धेरै देशहरूले चीनले आफ्नो भूराजनीतिक स्वार्थ पूरा गर्न ‘सप्लाई चेन’ (आपूर्ति श्रृंखला) र आफ्नो बजार स्थितिलाई हतियारको रूपमा प्रयोग गर्दै आएको आरोप लगाउने गरकेा छन् ।

चीनले जापानलगायत धेरै पश्चिमी देशहरूलाई दुर्लभ खनिज निर्यात गर्न अस्वीकार गर्न थालेको छ ।