• फाल्गुन २३ २०८२, शनिबार

सकारात्मक बन्दै चुनावी माहौल

फाल्गुन १० २०८२, आईतवार

देश प्रतिनिधिसभा सांसद चयनका लागि हुने मतदानको पूर्वसन्ध्यामा छ । फागुन २१ को दिन धेरै टाढा छैन । कुनै अप्रिय राष्ट्रिय घटना बाहेक अन्य सामान्य परिघटनाले निर्वाचन रोकिने अवस्था पनि देखिदैन ।

राजनीतिक दलहरू प्रचारप्रसारको महासमरमा छन् । उछिन पाछिन छ, जनताको मन जित्ने र मत माग्ने शैलीमा । नयाँ नयाँ शैली र ढङ्गको प्रयोग गरिने प्रतिस्पर्धामा कतै क्षमता नपुगेको र कतै होच्याउने आशय लुकेको हुँदा केही कमी कमजोरी पनि देखा परिरहेका छन् ।

निर्वाचन आयोग, मतदाता, उमेदवार, सुरक्षा निकाय, नियमनकारी अङ्ग र सञ्चार माध्यम तथा स्वसुपरीवेक्षक सबै सन्तुलित हुने प्रयास गरिरहेका देखिन्छन् । जनता पनि उग्र मुडमा देखिदैनन् । बरू सम्बन्धित सबैलाई प्रजातान्त्रिक र प्रतिस्पर्धात्मक आचरण अवलम्बनका लागि खबरदारी गरिरहेका देखिन्छन् ।

दाङमा राजनीतिक दलको झण्डा जलाइएको, गौरमा साम्प्रदायिक झडपका कारण छोटो अवधिको कर्फ्यू जारी गरिएको, कतै कतै मसाल जुलुश र केही स्पष्टीकरणबाहेक देशभर स्थिति सामान्य नै छ ।

तर पनि राजनीतिक दलहरूले ढिलो गरी घोषणापत्र जारी गरेकाले पनि आआफ्ना अजेण्डामा केन्द्रित हुन सकिरहेका छैनन् । विगतमा झैं अरूको आलोचनामा समय खर्चने प्रवृत्ति अहिले पनि जारी छ । यो नकारात्मकतामा सुधार आउन सकेन ।

राजनीतिक दलमा देश कता जान्छ, जनताका लागि के गरिनुपर्छ भन्ने भन्दा पनि हारजितको डरलाग्दो मानसिकताले घर गरिरहेको छ । हारजितको मानसिक त्रासले पार्टी घोषणापत्रमा अभिव्यक्त पार्टीका अजेण्डा जनतालाई बुझाउन बाधा पुर्‍याइरहेको छ ।

देश जनमतबाट अनुमोदित पार्टी र विचारले चलाउने हो । हार र जित एक सिक्काका दुई पाटा हुन् । त्यसैले देशमा हाल सिर्जित समस्याको वैधानिक राजनीतिक निकासका लागि सम्मुख आइरहेको निर्वाचनमा हार जितलाई जनताको फैसला स्वीकार गर्दै प्रतिस्पर्धामा निसङ्कोच अघि बढ्नु सबैभन्दा श्रेयस्कर छ ।

निर्वाचन माहौल पनि बन्दै गइरहेको छ । मतदानका लागि बाँकी रहेका दश दिनको छोटो अवधिमा प्रतिस्पर्धात्मक वातावरणलाई स्वीकार गर्दै आअफ्ना अजेण्डा केन्द्रित भई अघि बढ ।