चितवन । केही दिनअघि घटेको अण्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको जनाएको छ ।
सङ्घका अनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ४२५ रुपैयाँ पुगेको छ भने मझौला (मिडियम) अण्डाको मूल्य ३७५ रुपैयाँ कायम गरिएको छ ।
यसअघि ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मझौला अण्डा ३३५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । पछिल्लो निर्णयसँगै अण्डाको मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि भएको हो ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको सङ्घले स्पष्ट पारेको छ । सङ्घको पछिल्लो तथ्याङ्क अनुसार हाल प्रतिगोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पुगेको बताइएको छ ।
मूल्य वृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने अनुमान गरिएको छ भने व्यवसायीहरूले भने लागत बढिरहेकाले मूल्य समायोजन अपरिहार्य भएको बताएका छन् ।