• फाल्गुन २३ २०८२, शनिबार

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई नेकपाबाट निष्काशनकाे तयारी, यस्ताे छ कारण

माघ २५ २०८२, आईतवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

कर्णाली प्रदेशसभा सदस्य रहेका शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को चुनावी प्रचारमा संलग्न भएपछि नेकपाले सांसद पदबाट हटाउँदै पार्टीबाट निष्कासनको प्रक्रिया अघि बढाएको हो ।

नेकपा प्रदेश कमिटीले शर्मा प्रलोपाको चुनावी गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो । उक्त सिफारिसअनुरूप गत माघ २२ गते नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मासँग लिखित स्पष्टीकरण मागेका छन् ।

पूर्वमुख्यमन्त्री शर्मालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिए पनि आइतबार (माघ २५) सम्म जवाफ नआएपछि पार्टीबाटै निष्कासनको कारबाही गर्ने तयारी भएको हो ।

शर्मालाई “पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने ?” भन्दै स्पष्टीकरण सोधिएको थियो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले शर्मा चुनावमा प्रलोपाको प्रचारप्रसारमा हिँडेकाले शर्मालाई कारबाहीको तयारी भएको बताए ।

“कारबाहीका लागि पहिले नै स्पष्टीकरण सोधिएको थियो । यता, प्रदेश कमिटीबाट पनि कारबाहीको सिफारिस भएर आएको थियो,” स्वकीय सचिव आचार्यले बाह्रखरीसँग भने, “अब कारबाही गर्न मात्र बाँकी छ । एक दुई दिनमै हुन्छ ।”

शर्मा तत्कालीन माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभा संसदीय दलका नेता थिए । शर्मा एकीकृत समाजवादीसहित १० घटकसँगको एकता सम्मेलनमा पनि सहभागी भएका थिएनन् । उनी पार्टी एकताको विपक्षमा उभिएका थिए ।