• फाल्गुन २३ २०८२, शनिबार

बालेनहरु सत्तामा गएभने कसको पक्षमा काम गर्छन् भन्ने कुरा ७, ८ करोडका गाडीले देखाइसक्यो : वर्षमान पुन

माघ १६ २०८२, शुक्रबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले जेनजी आन्दोलन उठाउन नक्कली फेसबुक आइडी बनाएर मानिसहरुलाई उक्साइएको बताएका छन् ।

एक इजरेली संस्थाले गरेको अध्ययनमा ३४ प्रतिशत नक्कली फेसबुक आइडी बनाएर जेनजी आन्दोलन उठाउन उक्साइएको उनको भनाई रहेको छ ।

नेकपा निकट रोल्पा—काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा गरिएको कार्यकर्ता प्रशिक्षणमा बोल्दै नेता पुनले यस्तो बताएका हुन् ।

कृतिम बौद्धिकताको प्रयोग गरेर यसपालि पनि चुनाव प्रचार गरिएको भन्दै नेता पुनले एआइको प्रयोग गरेर एकजना नेताको पछाडी हजारौं नक्कली जनताको जुुलस देखाएर चुनावी माहोल आफ्‌नो पक्षमा देखाउने कोसिस गरिएको दाबी गरे ।

यस्ता नक्कली कामबाट सचेत रहेर जनतालाई आफ्‌नो सत्य इतिहास, बलिदान र आफूले गरेका कामका सही सूचना दिएर आफ्‌नो पक्षमा तान्नु पर्नेमा उनको जोड रहेको छ ।

नेता पुनले बालेन शाहहरु दलाल पूँजीपतिले दिएका ७, ८ करोडका गाडी चढेर हिँडिरहेको जनताले देखेकोले सरकारमा गएभने उनीहरुले कसको पक्षमा काम गर्नेछन् भन्ने स्पष्ट भइसकेको बताए ।

केही दिनअघि बालेन शाह एक व्यापारीकाे ८ कराेडकाे गाडीमा चढेकाे समाचारले संचारमाध्यममा व्यापकता पाएकाे थियाे । अर्को एक सन्दर्भमा उनले भदौमा भएको जेनजी आन्दोलन विदेशीको योजनामा भएको ठोकुवा पनि गरे ।