काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीमा फर्कने र प्रवेश गर्ने पूर्वमाओवादी कार्यकर्ता तथा छापामारहरुको ताँती लाग्न थालेको छ । यसैबीच दाङमा पनि पूर्व २ माओवादी छापामारहरु विप्लव नेकपाबाट पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।
विप्लव नेतृत्वको नेकपा (माओवादी)का जिल्ला समिति सदस्य गोपाल भण्डारी ‘सुधार’ र स्वतन्त्र रहेका पूर्वमाओवादी छापामार हिरा वली ‘प्रदिप’ उक्त पार्टी परित्याग गरि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।
२ नेता भण्डारी र वलीलाई फागुन २१ हुन गइरहेकाे चुनावमा दाङ—३ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका पूर्वमाओवादी डिभिजन कमाण्डर धनबहादुर मास्की ‘राजेश’ले भण्डारी र वलीलाई एक समारोहका बीच पार्टीमा स्वागत गरे ।
मास्कीले भण्डारी र वली आफ्नो पार्टीमा समाहित भएकोमा आफूलाई थप विश्वास र भरोसा मिलेको मनसाय व्यक्त गरे भने नेकपामा समाहित हुन पुगेका नेता भण्डारी र वलीले पनि पश्चिम दाङमा मास्की जस्तो दरिलो र आँटिलो नेताको उदय भएकोले फागुन २१ मा हुन गइरहेको चुनावमा मास्कीलाई जिताउन सघाउने तथा आफ्नो क्षेत्रको विकासमा टेवा दिने विचार व्यक्त गरे ।
भण्डारी र वली माओवादी जनयुद्धको समयमा संगठन र सैन्य क्षेत्रमा योगदान दिएका नेता हुन् । माओवादीमा विभाजन देखा परेपछि उनीहरु विप्लव माओवादीमा लागेका थिए ।