काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका राष्ट्रपति र उनकी श्रीमतीलाई अमेरिकाले गरेको गिरफ्तारीको संसारभर विरोध भइरहेका बेला आज नेपालमा पनि यहाँका ६ वटा कम्युनिष्ट घटकले यो घटनाप्रति कडाशब्दमा विरोध जनाएका छन् ।
माइतीघर मण्डलामा भएको विरोध सभामा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा महासचिव सिपी गजुरेलले भेनेजुयलाका राष्ट्रपति मदुरोलाई गरिएको गिरफ्तारीले अमेरिकी साम्राज्यवाद आफ्नो उद्धेश्यमा सफल भएको मानिएपनि साम्राज्यवादविरुद्धको लडाइँ बल्ल सुरु भएको बताए ।
यो घटनाले संसारमा साम्राज्यवाद विरोधी र स्वाधीन देश र जनतालाई आक्रोसित बनाएको भन्दै गजुरेलले अब अब एकढिक्का भएर लड्नु पर्ने बेला आएकोमा जोड दिए ।
सोही कार्यक्रममा अर्का वक्ता नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले यो वर्ष मात्र अमेरिकी साम्राज्यवादले एक दर्जन बढी सार्वभौम देशहरुमा आक्रमण गरिसकेको भन्दै डोनल्ड ट्रम्पलाई शान्ति पुरस्कार होइन हिटलरी पुरस्कार दिनुपर्ने बताए ।
भेनेजुयलामाथि अमेरिकाले गरेको आक्रमणको कडा शब्दमा विरोध जनाएका बास्तोलाले डोनल्ड ट्रम्पलाई एकनम्बरको आतंककारी भएको बताए । उनले मदुरोलाई तुरुन्त रिहा गर्नुपर्नेमा जोड दिए । उनले एक प्रसंगमा अमेरिकाले युद्धको लागि छुट्याउने खर्बौं रकमले संसारका गरिवहरुलाई गासबासको व्यवस्था गर्नुपर्ने बताए ।
सोही अवसरमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलालले अमेरिकाले भेनेजुयलाको तेल कब्जा गर्न मदुरोलाई कब्जामा लिएको भन्दै यो घटनाले संसारका अरु सार्वभौम देशहरुमाथि पनि खतराको घण्टी बजेको भन्दै सचेत गराए ।
कार्यक्रमका अर्का वक्ता तथा नेकपाका महासचिव ऋषि कट्टेलले भेनेजुयलाका राष्ट्रपतिको गिरफ्तारीको कडा शब्दमा विरोध जनाउँदै उनले साम्राज्यवादको अन्त्य नभएसम्म संसारमा शान्ति स्थापना नहुने बताए ।
भेनेजुयलामा तेल कब्जा गर्न खोजेजस्तै नेपालमा एमसीसी पनि नेपालको स्रोत कब्जा गर्ने उद्धेश्यले आएको भन्दै उनले साम्राज्यवाद विरोधी आन्दोलनलाई थप चर्काएर जानु पर्नेमा जोड दिए । सोही कार्यक्रमका अर्का वक्ता लोकनारायण सुवेदीले पनि अमेरिकाले गरेको भेनेजुयलाका राष्ट्रपतिको गिरफ्तारीको कडा शब्दमा विरोध जनाए ।
००४ सालदेखि नै अमेरिका नेपालमा आएको भन्दै उनले उत्तरको चीनमा समाजवादी क्रान्तिको उभार नेपालमा बसेर कमजोर पार्न खोजेको बताए । गणतन्त्र आएपछि पनि साम्राज्यवादको जरा नेपालमा झन गाडिनु दुर्भाग्य भएको भन्दै उनले यो चुनावले समस्याको हल नगर्ने बताए ।
उनले यो सरकार ढालेर स्वाधीन संयुक्त सरकार बनाएर त्यसको माध्यमबाट मात्र समस्याको हल गर्ने दिशामा जान सकिनेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै अर्का वक्ता वषन्त बोगटीले संसारमा आज नयाँ तरिकाले विश्वयुद्ध चलेको बताए ।
उनले प्राकृतिक स्रोत र साधन कब्जा गर्ने उद्धेश्यले साम्राज्यवादले छद्म युद्ध चलाइरहेको बताए । उनले भेनेजयुलामा अमेरिकाले गरेको घटना पनि नयाँ विश्व युद्ध भएको बताए ।
उनले नेपालबाट अमेरिकी साम्राज्यवादविरुद्ध लड्न भेनेजुयली जनतालाई साथ दिनुपर्नेमा जोड दिए । भेनेजुयला घटनाको सर्वत्र विरोध भइरहेको भन्दै उनले सुशीला कार्कीको सरकारपनि अमेरिकी कठपुतली सरकार भएको आरोप लगाए ।