मास्टर मित्रसेन थापाको १३१ औं जन्मजयन्ती विविध कार्यक्रम गरी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मास्टर मित्रसेन थापाको १३१ औं जन्मजयन्ती कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक सत्तामा नपुग्दासम्म पछाडि परेका विशिष्ठ स्रष्टाहरुको आवाज ओझेलमा पर्ने बताउनु भयो । उहाँले साहित्य तथा लेखन प्राज्ञिक सत्ता भएको हुँदा यसको बहस तथा छलफल हुनु पर्नेमा जोड दिनु भयो । मास्टर मित्रसेन थापाको १३१ औं जन्मजयन्तीमा बोल्दै कुलपति राईले मित्रसेन थापामगरले नेपाल र भारत बिचको सांस्कृतिक पुलको काम गरेको बताउँदै साहित्य असाध्यै महत्वपूर्ण विधा भएको उल्लेख गर्नु भयो । जन्मयन्तीलाई स्मरण गर्दै कुलपति राईले मित्रसेन प्रतिष्ठान ३० वर्ष भईसक्दा पनि यसबारे कतै बहस नभएको तर आफू प्रज्ञा प्रष्ठिानमा आए पछि ३ वर्षयता निरन्तर मित्रसेन प्रतिष्ठानको कार्यक्रममा प्राज्ञिक बहस शुरु गरेको बताउनु भयो । उहाँले साहित्य भनेको प्राज्ञिक सत्तासँग जोडिएको र प्राज्ञिक सत्ताको जोडबलले राज्य चलेको बताउँदै तत्कालीन राज्यले त्यो बेला मगर समुदायले लेखेको साहित्य तथा कृतिलाई उजागर गर्न नचाहेको अवस्थालाई स्मरण गर्दै अब आउने दिनमा यस्ता गतिविधिमा साहित्यकारहरु स्यंम सचेत हुनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका संरक्षक त्रिलोकसिंह थापामगरले मित्रसेन थापा विभिन्न लोकसंस्कृति विधाका खानी भएको बताउदै मित्रसेन नेपाली संस्कृति भाषा, पहिरनको महान संरक्षक भएको बताउनु भयो । नेपालको लोक संस्कृतिलाई भारतको राष्ट्रिय दोहोरीमा पुराउने पहिलो व्यक्ति नै मित्रसेन थापा भएको स्मरण गराउनु भयो ।

भारतीय दूरदर्शन आकाशवाणी रेडियोमा कार्यरत वरिष्ठ सञ्चारकर्मी प्रकाशप्रसाद उपाध्यायले तत्कालीन समयमा दिल्लीमा नेपाली गीत रेर्कड गरेको नपाउने बताउँदै मास्टर मित्रसेन थापाले दुई चार वटा गीत बनारस, कलकत्ता र बबई गएर रेर्कड गरेको हुनुपर्छ त्यही गीतहरु सातामा ५ दिनसम्म मित्रसेनकै गीत प्रसारण गरेको स्मरण गर्नु भयो ।

हिमालयन एडभेन्चर एम्वेसडर विक्रम पाँडेले मित्रसेन थापाको १३१ औं जन्मजयन्ती कार्यक्रममा बोल्दै मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनीले गीत असाध्यै मन पर्ने बताउनु भयो उहाँले मित्रसेन थापामगरको गीत र संगीतलाई पर्यटनसँग जोडर लान सके उहाँको योगदानको कदर र अस्त्तिव रहे बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै आदिसबासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले मास्टर मित्रसेन थापामगर मगर समुदायको मात्र सम्पत्ति नभई राज्यकै सम्पत्ति भएको धारणा राख्नु भयो । उहाँले आफू साहित्यको विद्यार्थी भएको बताउँदै साहित्य जगत नै राज्यसत्ताले उपेक्षित गरेकोमा दुःख व्यक्त गर्नु भयो । राज्यसत्ताले मास्टर मित्रसेन थापाको योगदानलाई फराकिलो ढंगले बुझ्नु पर्ने उल्लेख गर्नु भयो ।

नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गंगाबहादुर थापामगरले मास्टर मित्रसेन थापाको जन्मजयन्ती कार्यक्रममा बोल्दै मास्टर मित्रसेन थापालाई राज्यले नै पहिचान गर्न नसकेकोमा खेद प्रकट गर्नु भयो । उहाँले तत्कालीन राज्यसत्ताले मगर जाती प्रति असहिष्णुता थपिदिएको हुँदा साहित्यकार मित्रसेन थापा मगर भएकै कारण उहाँलाई राज्यले सम्मान गर्न नसकेको धारणा राख्नु भयो । राज्यकै बहुआयामिक व्यक्तित्वलाई राज्यले पहिचान गर्न नसक्दा मित्रसेन जस्ता सयौं पछाडि परेका समुदायका साहित्यकारहरु ओझेलमा पर्ने बताउँदै पछिल्लो पटक राज्यकै एउटा प्राज्ञिक अंग नेपाल प्रज्ञा प्रष्ठिानले विस्तारै मित्रसेनको योगदानलाई खोजअनुसन्धान गर्दै कार्यक्रम गर्न थालेकोमा खुशी लागेको बताउनु भयो।

मास्टर मित्रसेन स्मृति प्रष्ठिानका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गौ बहादुर आलेमगरले मास्टर मित्रसेन गीतकार मात्र नभई कथाकार, विबन्धकार, कविता लेख्ने कवि भएको बताउनु भयो । उहाँले दार्जिलिङको भाक्सु, देहरादुनमा मित्रसेनको शालिकहरु स्थापना भएको जानकारी दिनु भयो । अध्यक्ष आलेले कार्यक्रममा मित्रसेन थापालाई स्मरण गर्दै भारतको कुरुक्षेत्र विश्वविद्यालयबाट भारतीय नेपाली मूलका राजेन्द्र गुरुङ, भारतकै आसाम राज्यको भारतीय नेपाली मूलका खगेन्द्रप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय नेपालबाट मित्रसेनको विषयमा नेपालबाट विद्यावारिधी गरेको बताउनु भयो । सन् २००१ म भारत र नेपालमा २०५६ सालमा हुलाक टिकक समेत प्रकाशनमा ल्याइसकेको बताउँदै मित्रसेन थापाले लेखेको गीत, कथा, नाटकहरु हङकङ, मोरिसस, बर्मा लगायत देशका पुस्तकालयहरुमा समेत हिन्दीमा लेखिएको विभिन्न सामाग्री पाउने गरेको अध्यक्ष आले बताउनु भयो ।

त्यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ प्रा.डा. कौशिला रिसालले मास्टर मित्रसेनको बारेमा समीक्षात्मक टिप्पणी गर्दै बहुआयामिक व्यक्तित्वका रुपमा चिनिएको स्मरण गर्नु भयो। लाहुरेको रेलिमाई गीतहरु सुनेपनि मित्रसेन थापाको कथा, कविता जस्ता साहित्यको विषयमा आफूले अध्ययन नगरेको बताउनु भयो। प्रथम विश्व युद्धमा ७ वर्ष पल्टनमा जागिर खाएको व्यक्ति पछि आएर साहित्यकला संस्कृतिमा देखापर्नु त्यतिबेलाको कालखण्डमा मित्रसेन थापाको चर्चा र महत्वमाथि चर्चा हुनु निकै नै गौरवको विषय उल्लेख गर्नु भयो ।

गौ बहादुर आलेमगरको अध्यक्षता सम्पन्न कार्यक्रममा मास्टर मित्रसेन थापा १३१ औं जन्मजयन्तीको अवसर पारेर मास्टर मित्रसेन थापामगर स्मारिका २०८२ पुस्तक विमोचन गरिएको थियो। प्रष्ठिानका कोषाध्यक्ष याम थापामगरले मित्रसेन थापाको जिवनीको बारेमा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ गायिका तथा कलाकार कविता आलेमगर, राष्ट्रिय विभूति बलभद्र कुंवर प्रतिष्ठानका अध्यक्ष प्राध्यापक धन कुंवर, सामाजसेवी नारायण दास प्रष्ठिानका उपाध्यक्ष गायत्री रानामगर, सचिव अमला थापामगर, सदस्य रितु थापामगरले मास्टर मित्रसेनको जीवनको बारेमा आ आफ्ना धारणा राखेका थिए ।












