दाङ । गत २०७९ सालको संसदको निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई पराजीत गर्दै राष्ट्रिय राजनीतिमा चर्चामा आएकी नेकपा माओवादी केन्द्रकी तथा हाल नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेखा शर्मा यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसमा परेकी छैनन् ।
सो पार्टीले दाङका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको सूची सार्वजनिक गर्दा शर्माको नाम समावेश गरिएको छैन । यसअघि उनले दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले नेता पोखरेललाई पराजीत गरेकी थिइन् ।
पार्टीको सिफारिस सूचीमा नाम नपरेपछि उनी प्रत्यक्ष निर्वाचन नलडी समानुपातिकतर्फ जाने अनुमान गरिए पनि नेतृ शर्माले त्यसलाई अस्वीकार गरेकी छिन् । उनले यस पटक नयाँ नेताहरूलाई अघि बढाउन सहज होस् भन्ने उद्देश्यले स्वयम् प्रत्यक्ष निर्वाचन नलड्ने निर्णय गरेको बताइन् ।
शर्माले भनिन्, “यो पटक नयाँ साथीहरूले अवसरका लागि प्रस्ताव गर्नुभयो, म आफैले त्यसलाई स्वीकार गरेकी हुँ । समानुपातिकमा बस्ने कुरा हुँदैन । यो पटक म पार्टीका नेताहरूलाई जिताउने जिम्मेवारीमा बस्नेछु ।” यसअघि शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी थिइन् ।