• फाल्गुन २३ २०८२, शनिबार

बुद्धकाे समयमा हिन्दु धर्मकाे नाम ब्राहमण धर्म थियाे : सूर्यकुमार घिसिङ

पुष ९ २०८२, बुधबार

कुनै पनि धर्म प्रचार गर्नुपर्ने विषय होइन । झन त आर्थिक सहयोग र खर्च गरेर धर्मको प्रचार गर्नु गलत काम हो । यसरी प्रचार गर्दा क्षणिक आनन्द त होला तर दिर्घकालीनरुपमा मानिसलाई र समाजलाई फाइदा भने हुँदैन । धर्म भनिएपनि बुद्धले भन्नु भएको चाहीँ ‘धम्म’ हो ।

त्यतिबेलाको समाजका मानिसलाई बुद्धले आफ्‌नो विवेकले मेल खान्छ भने ‘धम्म’को कार्यान्वयन गर्नुहोस्, यदि विवेकले मेल खाँदैन भने छोडिदिनुस भनेर भन्नु भएको छ । उहाँले बुद्ध धर्मको प्रचार गर्नुको साटोे विवेकले मेल नखाए वा जीवनमा लागु गर्न नसके छोडिदिनुस् भन्नु भएको छ । त्यसकारण धर्म प्रचार गर्ने कुरा होइन । मन लागे लागु गर्ने, मन नलागे लागु नगर्ने विषय हो ।

आज हरेक धर्मको संगठन बनाएर प्रचार गर्ने, खर्च गर्ने जुन काम गरिँदै छ, यो राम्रो काम होइन । जुन समुदायले जुन धर्म मान्दै आएको छ सोही धर्म उसलाई मान्न दिनु पर्छ, उसको परम्परादेखि मान्दै आएको संस्कृति र संस्कार उसले कसरी त्याग्न सक्छ र ? जबकि उसको दिल दिमागमा लामो समयदेखि एकखाले संस्कार भरिएको छ तर अर्को धर्मको राम्रो प्रचार भयो भन्दैमा उसले तत्कालै अर्को धर्म अपनाउन कसरी सक्छ ?

प्राचीनकालदेखि समाजमा कुनै न कुनै संस्कार र मान्यताहरु लागु हुँदै आएका छन् । कतै हिन्दु होला, कतै बौद्ध होला, कतै इस्लाम, कतै इसाई होला र अन्य पनि होलान् । ती सबै सनातनदेखि मान्दै आएका संस्कार र प्रचलनहरु हुन् । तिनैलाई मानिसले धर्म भनेको हो र अंगाल्दै आइएको हो । तर बुद्ध वा हिन्दु धर्मका संस्कारहरु मान्दै आएको समाजमा पैसा खर्च गरेर प्रचार गर्दै आयो भन्दैमा कोही इसाई वा अन्य धर्ममा गइहाल्न मिल्छ ? गइहाल्न हुन्छ ? यो त समाजमा नकारात्मक कुरा फैलाउने काम हो नी त ।

ज्ञान पाएपछि बुद्धले ४ आर्यसत्यको कुरा गर्नु भएको थियो । यसमा दुःख, दुःखको निवारण लगायतका कुराहरु पालना गर्नुपर्ने छन् । जीवनमा आइपर्ने समस्या र यसका कारणहरुलाई कसरी निवारण गर्ने जस्ता कुराहरु पनि यसका महत्वपूर्ण कडीहरु हुन् । त्यस्तै अष्टाङ्गी मार्ग पनि बुद्धले दिएका सन्देशभित्र पर्ने कुराहरु हुन्, जुन बुद्धको समय भन्दा २५ सय वर्ष पछिको आजको समाजलाई पनि अति आवश्यक पर्ने कुराहरु हुन् । सनातन शब्दको प्रयोग बुद्धले गर्नुभएको हो । आजको हिन्दु भनिएको धर्मको नामाकरण नै बुद्धको समयमा भएको थिएन । आजको हिन्दु धर्मलाई बुद्धको समयमा ब्राहमण धर्म भनिन्थ्यो । बिचमा यसलाई वैदिक धर्म पनि भनियो ।

आज एकथरी हिन्दु धर्मको प्रचार गर्नेहरु हिन्दुलाई मात्र सनातन धर्म भन्दैछन् त्यो एकदम गलत कुरा हो । जबकी सनातन भन्ने शब्दको पहिलो चोटी प्रयोग नै बुद्धले गर्नु भएको हो । त्यसकारण हजारौं वर्षदेखि मानिँदै आएका कुनैपनि धर्महरु सनातनी हुन् । ‘सनातनी’ शब्द कसैको निजी होइन । यही हिन्दुलाई केही समय वैदिक धर्म भनेको इतिहास पनि छ । जे भएपनि कुनै एक धर्म मात्र सनातनी हो भन्ने हुँदैन ।

आज धर्म परिवर्तन गराउने जुन लहर चलेको छ यसबाट कसैलाई पनि केही फाइदा छैन । धर्मसँग सम्बन्धित संघ र संगठनमा बस्दा कुनै विरामी पर्दा उपचारमा सहयोग होला, कुनै सेवा गर्न र सेवा पाउन सजिलो होला । यो भन्दा बढी केही हुँदैन । यी सेवाहरु त कुनै धर्मको संगठनमा नबसेपनि स्वतहः पाउने कुराहरु हुन् । जस्तै नेपालमा क्रिश्चियनमा लागेवापत कसैलाई कुनै सहयोग पाइएको होला । कुरा यत्ति हो ।

राज्यबाट वा कुनै निकायबाट पाउने सेवा र सहयोग के क्रिश्चियन भएकोले मात्र पाउने, अरुले नपाउने हुन्छ र ? यो त ठिक कुरा भएन । यसैलाई भन्छन् धर्मको नाममा राजनीति । आज संसारमा धर्मको नाममा राजनीति गरिएको छ । जुन एकदम गलत छ । कुनै धर्ममा आवद्ध भएकोले मात्र सेवा, सुविधा पाउने र अरुले नपाउने अवस्था नै त धार्मिक राजनीति हो । यसैबाट विभेद सुरु भएको छ । यसैबाट आफ्‌नो र पराइ भन्ने सोच पलाउँछ । जहाँनेरबाट विभेद सुरु हुन्छ, त्यहीँनेरबाट समाजमा अन्याय पनि सुरु हुन्छ । तर बुद्धले आफूले पाएको ज्ञानलाई धर्म भनेर प्रचार गर्नु भएको छैन ।

आज बुद्ध धर्म भनेर जुन जुन कुराहरु सिकाइएको छ, त्यसलाई बुद्धले ‘धम्म’ भन्नु भएको छ र त्यसमा त्यतिबेलाको समाजका कैंयौं गहिराइका विषयहरु छन् । दुःख किन हुन्छ, सुख कसरी प्राप्त गर्ने ? निर्वाणको बाटो, समाज समृद्ध कसरी हुने ? मानव भएर मानवलाई मानव जस्तो व्यवहार गर्नु, मानव जस्तो कृयाशील हुनु, दानव जस्तो नहुनु जस्ता कुराहरु बुद्धको ‘धम्म’मा सिकाइएको छ । यसलाई ‘धम्मपाद’ पनि भनिन्छ । धेरै सयमपछि अन्य धर्महरुको प्रचार बढ्दै गएपछि बुद्धले सिकाएका शिक्षाका कुराहरुलाई पनि ‘बुद्ध धर्म’ भनिएको हो ।
धर्म र राजनीति
धर्म र राजनीति एउटै विषय होइन । यी धेरै नै फरक विषय हुन् । किनकी धर्ममा राजनीतिक व्यवहार गरिनु हुँदैन । तर आजको समाजमा धर्ममा धेरै राजनीतिक व्यवहार देखिन थालेको छ । हुँदा हुँदा धर्मको नाममा व्यापार गरिरहेको देखिन थाल्यो । व्यक्तिको फाइदाको लागि त्यस्तो अपनाइएको हो । यो गलत काम हो । किनकी धर्मका शिक्षाहरुमा धर्मको नाममा व्यापार गर्नु भनेर कतै कुनै धर्मग्रन्थहरुमा भनिएको छैन ।
दलाई लामाको धार्मिक राजनीति
तिब्बतबाट पलायन भएका दलाई लामाहरु आज पनि तिब्बतको सत्तामा फर्किन सकिन्छ की भनेर कोसिस गरिरहेका छन् । तर त्यो आजको दुनियाँमा असम्भव कुरा हो । धर्मको नाममा राजनीति भनेको यो पनि हो । छोडिसकेको सत्ता फेरि पाउनको लागि फेरि कोसिस गर्नु भनेको पहिलेदेखि गरेको राज्य पाउन सकिन्छ की भन्ने आशा र आकांक्षा मात्र हो । तर त्यो पाउन निकै कठिन कुरा हो । आफूले छोडिसकेको कुरा फेरि पाउने कुरा असम्भव जस्तै हो ।
थरीथरीका बौद्ध धर्मका हाँगा
थेरवाद, हिनयान, बज्रयान जस्ता कुराहरु बुद्ध धर्ममा आउने गरेका छन् । तर यी सबै आआफ्‌ना स्थानमा महत्वपूर्ण कुराहरु हुन् । बुद्धले ज्ञान पाएपछि ४५ वर्षसम्म त्यसको निरन्तररुपमा ‘धम्मचत्र प्रवद्र्धन’ गर्नुभयो । अर्थात् ज्ञानको प्रचार गर्नुभयो । त्यो भनेको बुद्ध धम्मको प्रचार प्रसार हो । त्यही शिक्षालाई हेनीथेरवाद भनियो । यो सुरुमा पाली भाषामा छ । यसलाई थेरवादले लिएको हो । पछि निरञ्जन लिपीमा त्यसलाई छापियो । पछि ओमी लिपी र उछेन लिपीमा पनि छापियो । उछेन भनेको ‘समबुद्ध’ लिपी हो । आज हामीले अभ्यास गरिरहेको ‘समबुद्ध लिपी’ हो ।

हेनीथेरवाद, महायान र बज्रयान बुद्ध धर्मका विभिन्न चरणका मुख्य भागहरु हुन् । आज धेरे लामाहरुले बज्रयान लागु गर्ने कोसिस गरिरहेका छन् तर यसलाई लागु गर्न सजिलो छैन । यसमा योग र तपस्या गर्नुपर्छ । धेरै अभ्यासहरु गर्नुपर्छ । थेरवादमा कामना र बुद्धले दिएको वचन हुन्छ । यता बज्रयानमा भने योग र तपस्या बढी हुन्छ । विशेषगरी बज्रयानमा प्रवेस गर्न त धेरै अभ्यासहरु गर्नुपर्छ । हामीले आज बज्रयान अन्तरगत उपाययान हो । यसमा मानिसको दिनदशा र ग्रहहरु शान्त पार्ने उपायहरु खोजिन्छ ।
प्रस्तुती : जीवन हमाल, (कुराकानीमा आधारित)