• फाल्गुन २४ २०८२, आईतवार

डिम्ब तस्करी विवादमा तानिएकी महान्यायाधिवक्ता भण्डारीलाई ट्रान्सपरेन्सीले गर्यो निलम्बन

मंसिर २८ २०८२, आईतवार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ । सो संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सी स्रोतले जानकारी दियो ।

स्रोतले भन्यो, “उहाँ महान्यायाधिवक्ता भएपछि विवादमा पनि तानिनुभयो । राजीनामा पनि दिनुभएन । त्यसैले हामी हटाउन बाध्य भयौँ । उहाँको नाम वेबसाइटबाट पनि हटाइएको छ ।”

महान्यायाधिवक्ता भएपछि भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनका लागि निवेदन पनि दिएकी थिइन् । तर, भण्डारी विवादमा तानिएपछि ट्रान्परेन्सीले उनलाई राजीनामा दिन आग्रह गरेको थियो ।तर, विवादित भएर पनि पदमै बसेपछि उनको सदस्यता स्थगन नभएर निलम्बन गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलका सीईओ आशिष थापाले जानकारी दिए ।

“अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ । उहाँविरुद्ध सर्वोच्चमा मुद्दासमेतच रहेका हुँदा सदस्यता निलम्बन गरिएको हो,” थापाले भने ।
राजधानीको एउटा निजी फर्टिलिटी क्लिनिकले दुई जना नाबालिगबाट डिम्ब सङ्कलन गरेको घटनामा मुद्दा दायर नगर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बहिरिएसँगै त्यसलाई लिएर प्रश्नहरू उठिरहेका छन् ।