चिसो मौसममा छालामा केही समस्या देखा पर्न सक्छन् । यसबाट बच्नका लागि धेरैले कोल्ड क्रिम लगाउँछन् । कोल्ड क्रिमले छाला हाइड्रेट हुनुका साथै धेरैजसोमा ब्ल्याकहेड्सको समस्या देखिन्छ अनि प्राकृतिक चमक हराएर जान्छ ।
‘जाडोमा कम आद्रता हुने भएकाले छालालाई मोइस्ट र हाइड्रेट राख्न जरुरी हुन्छ’ ब्युटिसियन रश्मि श्रेष्ठ भन्छिन्, ‘चिसो हावाका कारण छालाको प्राकृतिक चिल्लोपन कम भएर जान्छ जसले गर्दा छाला सुख्खा भएर चिलाउने समस्या आउँछ ।’ त्यसैले यो मौसममा छालाको स्याहार–सुसार विशेष तरिकाले गर्नुपर्छ ।
मोस्चराइजर जरुरी
जाडोमा छालाको चमक बनाइराख्न मोस्चराइजर गर्न जरुरी छ । अनुहारको छालालाई मात्र नभएर पूरै शरीरलाई मोस्चराइजरको आवश्यकता पर्छ । छाला धेरै सुख्खा भए क्रिम बेस्डको मोस्चराइजर लगाउनुपर्छ । यसले छालालाई हाइड्रेट मात्र गर्दैन यसले छालाको प्राकृतिक तेललाई पनि बचाइराख्न सहयोग गर्छ । नरिवल, क्यास्ट्रोल, जैतुनको तेलसहित बटरमिल्कले छालालाई मोस्चराइजर गर्न सकिन्छ । त्यस्तै भिटामिन ‘ई’युक्त मोस्चराइजर लगाउनुपर्छ ।
सिरमको प्रयोग
छालालाई चिसोको प्रभावबाट बचाउन ‘हाइड्रेटिङ सिरम’को प्रयोग गर्नुपर्छ । अनुहार धोइसकेपछि सुख्खा बनाएर सिरमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ ।
प्रशस्त पानी पिउने
चिसो मौसममा धेरैले पानी कम पिउँछन् । यसले डिहाइड्रेसनको समस्या निम्तिन्छ । शरीरमा पानीको मात्रा कम हुनेबित्तिकै छाला सुख्खा हुन्छ । त्यसैले चिसो मौसममा पनि छालाको चमक बढाइराख्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
प्याक लगाउने
छालालाई नरम बनाउन घरमै बनाइएको प्याक लगाउन सकिन्छ । यो मौसममा मुल्तानी माटो र बेसनको प्रयोग गर्नुहुँदैन । यसले छाला सुख्खा बनाउँछ । एलोभेरा, दूध, एभोकाडोबाट बनेको फेसप्याक लगाउनुपर्छ । पछिल्लो समय बजारमा नयाँ ‘सिड प्याक’ उपलब्ध छ । त्यसको प्रयोग गर्न सकिन्छ । यसले छालालाई हाइड्रेट र मोस्चर बनाइराख्छ । सामान्य छाला भएकाहरूले सातामा एकपटक यो लगाउनुपर्छ । धेरै सुख्खा र ‘हेभी मेकअप’ गर्नेहरूले सातामा दुईपटक यो प्याक लगाउनुपर्छ ।
मनतातो पानीको प्रयोग
चिसो मौसममा तातोपानीले नुहाउँदा मांसपेशीलाई आराम मिले पनि शरीरको छाला धेरै सुख्खा हुन्छ । त्यसैले मनतातो पानीको प्रयोग गर्नुपर्छ । यो मौसममा साबुनको प्रयोगबाट बच्नुपर्छ । साबुनमा केमिकल हुने भएकाले शरीरको छाला रुखो बनाउँछ । साबुनले नुहाउँदा छालाको प्राकृतिक चमक हराएर जान्छ । जाडोमा नुहाउनका लागि क्लिन्जरको प्रयोग गर्नुपर्छ अथवा बडी वास आयल वा क्रिम बेस्ड हुनुपर्छ । त्यस्तै अनुहार धुँदा पनि मनतातो पानीको प्रयोग गर्दा छालामा रहेको प्राकृतिक तेल नष्ट हुँदैन र छालामा निखार आउँछ । दिनमा दुईपटक मात्र अनुहार धुनुपर्छ ।