काठमाडौं । प्रत्येक वर्ष साउनदेखि असोजसम्म भक्तजनहरुको घुइँचो लाग्ने यस पर्यकटीय स्थलमा बाँकी महिनामा पनि आन्तरिक पर्यटकहरुको आवतजावत देख्न सकिन्छ । यो स्थानमा श्रीस्वस्थानी व्रतकथामा सतीदेवीको बायाँ स्तन पतन भएको उल्लेख छ । प्राकृतिक रुपमा ठूला ढुंगाहरु र रुखको संयोजनबाट बनेको यो सम्पदा हेर्नलायक छ ।
काठमाडौंको कोलाहल, धुलो र धुवाँमा बसेर वाक्कदिक्क भएकाहरुका लागि यो स्थान केही समय मन बहलाउने माध्यम बन्नसक्छ ।
भित्तामा अडिएको ढुंगाको माथिबाट पानी बगेर झरणा बनेको छ भने सोही ढुंगाको भित्र भने गुफा रहेको छ । गुफाभित्र महादेवको मूर्ती राखिएको छ । गुफाको भित्र र बाहिर तथा वरपर पनि मन्दिर र मूर्तीहरु बनाइएका छन् ।
पुजारी रामबहादुर कार्कीका अनुसार त्यहाँ ढुंगामा ५ पाण्डवका पाइलाहरु पनि रहेका छन् । यस पर्यटकीय स्थललाई व्यवस्थित बनाउन बाैडेश्वर संरक्षण समिति बनाइएकाे छ ।











