• फाल्गुन २४ २०८२, आईतवार

प्रचण्ड-माधवको एकता सभामा व्यापारीसँग भनाभन, पैसामा सडक बेचेको आरोप

मंसिर १४ २०८२, आईतवार

कास्की । प्रचण्ड—माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका छन् । नजिकका व्यापारीहरूले सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले पर्चा र पम्प्लेट छरेर विरोध जनाएका थिए ।

‘गरी खान देऊ’ भन्ने माग सहित उनीहरुले विरोध जनाएका हुन् । पोखराको ट्रेडमलका व्यवसायी नवराज त्रिपाठीले सडकमा सभा आयोजना गर्न दिनेलाई समेत कारबाहीको माग गरे ।

‘सडकमा हुने सभाले व्यापार व्यवसाय चौपट भएको छ । धेरै पहिलेदेखि शान्तिपूर्ण रुपमा माग राख्दा समेत सुनुवाइ भएन,’ उनले भने, ‘अहिले पनि सोही ठाउँमा आन्दोलन र प्रदर्शन भइरहेको छ । यसमा हाम्रो विरोध छ ।’
चिप्लेढुंगा सिद्धार्थ चोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् ।

‘केही रकमको भरमा सडक बेचिँदैछ । आजदेखि नै यस्तो कार्यक्रम बन्द होस् । ४ घण्टा बन्द गरेर व्यवसायमा कति नोक्सान हुन्छ ?,’ उनी भन्छन् । व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।

यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको सुनारले बताए । सभालाई पार्टी संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।

व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो । कार्यक्रमको विरोधमा व्यवसायीहरूले आफ्नो व्यवसायको सटर तानेका छन् ।