काठमाडौं । काठमाडौंमा भएको प्रगतिशील बुद्धिजीवीहरुको भेलाले अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको केन्द्रिय तदर्थ समिति गठन गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. लोककनारायण सुवेदीको बिशेष उपस्थिति र क. महादीप पोखरेलको अध्यक्षतामा सम्पन्न भेलाले यो समिति गठन गरेको हो ।
भेलामा उपस्थित बुद्धिजीवीहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक सुवेदीले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र नेपाली कम्युनिष्ट आन्दोलनको बिचलनकारी स्थितिबाट यसलाई मुक्त गरेर सही दिशा दिन निष्ठावान क्रान्तिकारी कम्युनिष्टहरुको धुबीकरण र एकीकरण आजको ज्वलन्त राष्ट्रिय आवश्यकता भएको बताए ।
उनले साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवाद बिरुद्ध एक भएर लड्नुको कुनै बिकल्प नभएको भन्दै देशका किसानको अवस्था र कृषिको गएगुज्रको स्थिति बारे प्रकाश पारे । सुवेदीले किसानका समस्या हल नभइ राष्ट्रिय समस्या पनि हल हुँदैन भन्ने पुष्पलालको कुराको स्मरण गराए ।
भेलामा बुद्धिजीवीहरु महादीप पोखरले, भूमि देवकोटा, पुष्पर गौतम, निरेन्द्र कुँवर, सुशील भटराई, निर्ग नबिन, प्रेमबहादुर थापा, वासुदेव नाथ, महेश पौडेल, खेम पौडेल र प्रेम खनाल लगायतले मन्तव्य राखेका थिए ।
वक्ताहरुले बोल्नु कम्युनिष्ट आन्दोलनमा उत्पन्न गरिएका विकृति र विसंगतिहरुका बिरुद्ध लड्दै बदिलँदो परिप्रेक्षमा यो आन्दोलनलाई जनता र राष्ट्रको हितमा सही दिशामा अघि बढाउनु पर्ने र यसको भविष्य उज्जल रहेको कुरामा जोड दिए । वक्ता निर्ग नबीनले बिशेष गरी कृषि मजदुर र किसानहरूमाथि भइरहेको शोषण र उत्पीडन बिरूद्ध आफूपनि संघर्षरत रहेको कुरा सुनाए ।
भेलाले महादीप पोखरेलको संयोजकत्वमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी संघको १५ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको छ । संगठनको आगामी २०८३ असार ४ गते म्याक्सिम गोर्की स्मृति दिवसका अवसरमा राष्ट्रिय भेला गर्ने समेत निर्णय गरेको छ ।
भेलाले यस समितिको सल्लाहकारमा क.बद्रीनाथ अधिकारी, क. निरेन्द्र कुँवर र प्रेम खनाललाई चयन गरिएको छ । यो तदर्थ समिति र सल्लाकारमा आवश्यक प्रगतिशील बुद्धिजीवीहरु थप गरिने पनि भेलाले निर्णय लिएको छ ।
भेलाले नेपाल कम्युनिष्ट पार्टी किसानसँग राष्ट्रिय अभियान अन्तरगत पौष ११ गते १३२औं माओ जयन्तीको अवसरमा सम्पन्न गरिने राष्ट्रिय किसान भेलाका सन्दर्भमा ‘नेपाली किसानका समस्या र समाधान’ बिषयमा बुद्धिजीवीहरुको गोष्ठी आगामी मंसिर २७ गते गर्ने निर्णय समेत लिएको छ । यसका लागि कृषि र किसानका सबै कुरा समेटेर एउटा बिचारपत्र तयार पार्ने उपसमिति पनि भेलाले बनाएको छ ।