ग्रामीण विद्युतीकरण, स्वच्छ खानेपानी, राम्रा राजमार्ग, सर्वसुलभ हवाई सेवा, सुरक्षित यातायात सेवासहितको दिगो विकास हो, सबै नेपालीको चाहना । ठोसमा भन्नुपर्दा स्वच्छ वातावरण, आधुनिक कृषि तथा पशुपालन प्रणाली, उद्योगधन्दा स्थापना र प्रतिव्यक्ति आयमा वृद्धि र प्रदुषणरहित सहर आमचाहना हो । प्रदूषणरहित सहर, सफा तथा स्वच्छ नदी भएको देश हामी सबैको चाहना हो । नेपाली समाजले विभिन्न कालखण्डमा राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको सङ्घर्ष पनि सुन्दर शान्त तथा विकसित देशकै लागि हो ।
नेपाली समाजले खोजी गरेको भविष्य भनेको शान्त, सुशासित, विकसित तथा समृद्ध नेपाल हो । विकसित र सुशासित नेपालभित्र व्यवहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीको अवसर, सामाजिक न्याय, सेवामैत्री प्रशासनतन्त्र एवं छिटोछरितो न्याय सेवाजस्ता पक्ष पर्छन् ।
‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना कसको नहोला र ? सबैको हुन्छ । देश विकसित भएपछि स्वदेशमै आयआर्जनका अवसर सिर्जना हुन्छन् । वर्तमान अवस्थामा युवा उमेरको जोश जाँगर तथा कार्यक्षमता विदेशमा खर्च गर्नुपर्ने बाध्यता अन्त्य हुन्छ ।
प्रजातन्त्र पुनर्स्थापना भएपछि नेपालीको भाग्य र भविष्य बनाउनका लागि सत्तामा गएका नेता देश विकास गर्न असफल भए । दलले विभिन्न कालखण्डमा जनतालाई विकासको सपना मात्र बाँडे, तर काम गरेनन् । पछिल्लोपटक जेनजी आन्दोलन हुनुको कारण पनि राजनीतिक दलको कुशासन तथा असक्षमता नै हो ।
राजनीतिक दर्शनका हिसाबले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, समाजवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद सबै दर्शन प्रयोगमा आए पनि । समय समयमा व्यवस्था बदलिए पनि । राजनीतिक दलहरू पालैपालो सत्तामा पुगे तथापि देशको समग्र अवस्था भने बदलिएन । राजनीतिक प्रयोग कथनीमै सीमित बन्न पुग्यो ।
जेनजी आन्दोलनले जननिर्वाचित सरकारलाई पदच्युत गराएर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको छ । यो सरकार निर्माण हुने परिस्थितिपछि पनि पुरानो नेतृत्वलाई विस्थापित गरी सक्षम नेतृत्वलाई सत्ता हस्तान्तरण गरिकन देश विकास गर्नु हो ।
राणा शासन अन्त्यपछिका सात दशकमा सात संविधान बने । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन पनि भए । विकल्पको खोजीमा जनताले दलहरूलाई पालैपालो निर्वाचित गरे । तर, ‘जति जोगी आए पनि कानै चिरेका’ भनेझंै कुनै पनि दल वा नेता विशेषको नेतृत्वले समाजको आवश्यकता र जनताको इच्छाअनुसार देशमा प्रभावकारी काम गर्न सकेनन् ।
पुराना ठूला दलका अदूरदर्शी र भ्रष्ट नेताका हातमा निरन्तर नेतृत्व परिरह्यो । अरू विकल्पको त कुरै छाडौं, दलभित्रका सक्षम नेताले समेत देश र जनताको सेवा गर्ने अवसर पाउन सकेनन् । सीमित ‘शीर्ष’ भनिने नेताका हातमा पार्टी र सत्ता रहिरह्यो ।
परिणामतः देशमा देशमा राजनीतिक विकृति र विसङ्गति मौलाउँदै गयो । नेपाली समाजले रूपान्तरणको गति लिन सकेन । नागरिक शिक्षा सर्वथा अभाव रह्यो । खुट्टा तान्ने र गालीगलौजको संस्कृति झाँगिदै गयो । यति हुँदा पनि देश हाँक्न सक्ने राजनीतिक दल र नेतृत्वलाई जनताले विवेकसम्मत ढङ्गले सत्तामा पुर्याउन ध्यान दिएनन् ।
समाज अहिले पनि राजनीतिक दलको दलदलको कित्तामा विभाजित छ । राजनीतिक सिद्धान्त र चरित्रबिनाका दललाई आँखा चिम्लिएर मतदान गर्ने मतदाताका कारण हरेक दलबाट दुई–चार सांसद निर्वाचित हुने र उनीहरूले सरकार बनाउने वा गिराउने ‘खेल’मा शीर्ष नेतालाई समर्थन गर्ने संस्कृतिले राजनीतिक अस्थिरता थप्दै गएको छ । दलीय भाडबण्डामा सरकार चल्छ । देशको कर्मचारीतन्त्र र सुरक्षा तथा न्यायिक निकाय दलीय रोगबाट ग्रसित र आजित छन् ।
देशमा मिश्रित निर्वाचन प्रणाली छ । यसले कुनै पनि दलको बहुमत ल्याउन सहयोग पुर्याउँदैन । देशमा १ सय २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता छन् । नयाँ थपिने प्रक्रिया जारी छ । यसले मिलिजुली सत्ताको चास्नीमा रमाउने राजनीतिक संस्कार विकास गरेको छ । नागरिक समाज कमजोर छ ।
नागरिक समाज दलीय आस्थामा विभक्त भएको अवस्था छ । देशका पढेलेखेका, जाने बुझेको सचेत वर्ग राजनीतिलाई थाक्रो बनाएर आफ्नो दुनो सोझ्याउने कार्यमा लागिपरेका छन् । यसले जनताप्रतिको जवाफदेहितालाई लगभग अन्त्य गरिदिएको छ ।
दलीय आस्थाका आधारमा विभाजित नगरिक समाज, कर्मचारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, डाक्टर, नर्स, इन्जिनियर, मजदुरले समाज रूपान्तरणको गति र लय समाउन सकिरहेका छैनन् । राजनीतिक दलभन्दा माथि देश हुन्छ भन्ने राष्ट्रिय भावना कमजोर रहेको छ ।
जेन्जी आन्दोलनपछि समाज दोबाटोमा उभिएको छ । यति बेला हरेक तह र तप्काका नागरिकले गुणदोषका आधारमा दल चुन्ने र यसका सही नेताहरू निर्वाचनमार्फत् छनौट गर्ने धारणा र विधिलाई प्रयोगात्मक अभ्यासमा लैजानु जरूरी छ ।
समाजमा नागरिक समाज, बुद्दीजीवीलगायत सर्वसाधारण जनताका तहमा पनि चिया, चौतारी, मेलापात एवम् भेटघाटमा राजनीतिक चियोचर्चो, बहस, समालोचना वा आलोचनाजस्ता टिकाटिप्पणी हुने गरेका छन् ।
सुशासन विकासको मेरूदण्ड भएकाले देशमा कुशासन भएसम्म विकास निर्माण सम्भव हुँदैन । यसर्थ, हामीले अहिलेसम्म जसरी राजनीतिक परिवर्तनका लागि सङ्घर्ष गर्यौं, त्यसैगरी राज्यलाई सुशासन र विकासको बाटोमा हिँडाउन सबै मिलेर काम गरौं ।