काठमाडौं । आज विश्वभरका पूँजीपतिहरुले चलाएको राज्यमा अन्याय र अत्याचार तिब्ररुपमा बढिरहेको छ । जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका मागहरु पूरा गर्नु उनीहरुका लागि कुनै महत्वको विषय रहेन । फलस्वरुप आज संसारका धेरै देशहरुमा जनताका यी र यस्ता असन्तुष्टिहरु राज्यसत्ता विरुद्ध कुनै न कुनै रुपमा विष्फोट र प्रकट भइरहेका छन् ।
अफ्रिका र युरोपका विभिन्न देशहरुमा कतै हतियारबद्ध त कतै शान्तिपूर्ण विद्रोहकोरुपमा वा चुनावको माध्यमबाट देखा परेका आन्दोलनको झिल्काहरु एसियाका नेपाल, बंगलादेश र श्रीलंका जस्ता देशहरुमा पनि देखा पर्न थालेका छन् ।
ती विद्रोहरुहरु जनताका अति आवश्यकताको जगबाट कति उठेका छन् र साम्राज्यवादी शक्तिहरुको इसारामा चल्न नमान्ने देशहरुमा अशान्ति फैलाउने उद्धेश्यले कति प्रेरित छन् भन्ने कुरा मिहिन तरिकाले केलाउनु पर्दछ ।
जसरी बंगलादेशमा विद्यार्थीका माग पुरा गराउन शेख हसिनाको सरकार पतन गराउन होस् वा श्रीलंकामा राजापाक्षेको सरकार ढलाउन चलाइएका विद्यार्थी आन्दोलनहरु होऊन्, ती आन्दोलनहरु साम्राज्यवादी शक्तिहरुको इसारा नाच्न नचाहने देशभक्त सरकारहरु ढलाउन चलाइएका आन्दोलनहरु थिए । ती देशहरुमा भ्रष्टाचार नभएका भने होइनन् ।
साम्राज्यवादी शक्तिले आफ्ना भरियाहरुलाई पहिला आफ्ना नीतिहरु पछ्याउँदासम्म भ्रष्टाचार गर्न छुट दिन्छ तर जब ती शासक जनताकासामु गन्हाउन थाल्छन् तब त्यही शक्तिले अर्को आन्दोलन उठाएर आफ्नो चाकडी गर्ने अर्को शक्तिलाई सत्तामा पुर्याउँछ ।
यता नेपालमा पनि विदेशी शक्तिको गोटी बनेको नेपालका शासकहरुलाई मिल्काइ अर्को गोटीलाई सरकारमा पुर्याउन जेनजी उमेर समूहका युवाहरुलाई प्रयोग गरियो । सुरुमा जेनजीहरुको माग सामाजिक संजाल खोल्नुपर्ने र भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्ने भएपनि त्यही आन्दोलनको टाउकोमा टेकेर राज्यको ढुकुटीमा मोजमस्ती गर्दै आएका तर आपसमा जुधिरहेका सत्ताधारी दलका मानिसहरुले नै आपसमा बदलास्वरुप एकले अर्काका धन सम्पति नष्ट गरे र सरकारी संरचनामा पनि आगजनी गरे ।
सुरुमा शान्तिपूर्ण तरिकाले माग राखेर सडकमा आएका जेनजीहरुलाई ढाल बनाएर घुसपैठियाहरुले जेनजीको नाममा देशभर आतंक मच्चाए । भाद्र २३ गतेको सानो प्रदर्शनमाथि ओली—देउवा सरकारले चलाएको गोलीले उग्र रुप लियो र बदलास्वरुप २४ गतेबाट चलेको आन्दोलनले सारा संरचना नष्ट गर्यो । त्यसपछि बनेको सरकारले भ्रष्टाचारी र जेनजी विद्रोहका हत्यारालाई कारवाही गर्नुपर्नेमा उल्टै जेनजीहरुलाई अपराधी झैं व्यवहार गरिएको छ र भ्रष्ट र हत्याराहरु सडकमा साँढे झैं बुर्कुसी मारिरहेका छन् ।
मंसिर ५ गतेको दिन जेनजीहरु माइतीघरको सडकमा बसेर विभिन्न नारा लगाइरहेका थिए भने केपी ओलीहरु पनि त्यतै कतै एक हुल मानिस जम्मा गरेर जेनजी र सुशीला कार्कीलाई सरापी रहेका थिए । उनी भन्दै थिए,‘संसद पुनस्थापना हुनुपर्छ, सिंहदरबार जलाउने अपराधीलाई समाएर जेलमा सडाउनु पर्छ ।’
बंगलादेशमा विद्यार्थीले चलाएको आन्दोलनबाट सरकारमा पुगेका युनुसले हसिनालाई मृत्युदण्डको सजाय सुनाएका छन् तर नेपालमा ७६ जनाको हत्यारालाई पुरस्कार स्वरुप श्रीपेच लगाएर सडकमा नाच्न लगाइएको छ । यही हो, ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेको ।
जेनजी उमेर समूहका युवालाई ढाल बनाएर भ्रष्टाचारले गन्हाएका नेपाली अनुहारका कारिन्दाहरुलाई तह लगाउन मौसमी आन्दोलन चलाइयो । फलस्वरुप गन्हाएर कुहीगन्धे भएकाहरु सरकारबाट सडकमा हुत्याइए तर सत्ताबाट पुरै हात धोइएको भने होइन ।
हजुर हामी तपाईंकै हौं, हामीलाई एकचोटी माफी दिनुस्, सरकारमा गएर हामीले गर्ने तपाईंकै सेवा हो भनेर लम्पसार पर्न गएमा चुनावमार्फत् फेरि सत्ताको सुकिलो कुर्सीमा पुग्ने ठाउँ त छ नै तर मालिकले नयाँ कारिन्दा खोजेको यो अवस्थामा कुर्सीमा राख्ने नयाँ अनुहारको पो खोजी हुने हो की ?
हामी माइतीघर मण्डलामा पुग्दा जेनजीका घाइतेहरु सडकमा बसेर आफ्ना मागहरु पुरा गर, भ्रष्टाचारी र हत्यारालाई कारवाही गर, लगायतका नारा लगाइरहेका थिए ।
जेनजी कार्यकर्ताहरु आपसमा बाझिरहेका र कुनै पूर्वयोजना बिना र नेतृत्व बिना नै सडकमा आएका जस्ता देखिन्थे । हजारौं गाडीका आवाजका बीचमा उनीहरुका नाराहरु फिका फिका बनेका भएपनि मिडियाहरुले उनीहरुका मागहरु सहितका आवाजहरुलाई महत्व दिँदै रेकर्ड गरिरहेका थिए ।
भ्रष्टाचारीलाई कारवाही गर, नेपाल आमालाई न्याय दे, हत्यारो केपीलाई फाँसी दे, जेनजीका माग पुरा गर, नालायक सरकार राजीनामा दे, सहिदका सपना पुरा गर, जेनजी आन्दोलन जारी छ, भन्दै लगाइएका नाराहरु आज मिडियामा बर्गेल्ती सुन्न पाइन्छ । गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी विद्रोह दबाउन भूमिका खेलेको भन्दै केपी ओलीमाथि उनीहरुले गालीका गोली प्रहार गरिरहेका थिए ।
उता बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा भएको एक कार्यक्रममा जेनजी विद्रोहबाट मिल्काइएका केपी ओली जेनजी र तिनका मागहरुका विरुद्ध कुर्लिरहेका थिए भने माइतीघर मण्डलामा जेनजीका घाइतेहरु आफ्ना मागहरु पुरा नभएको र बरु सुशीला कार्की नेतृत्वको सरकरले उल्टै भ्रष्ट र जेनजीका हत्याराहरुलाई संरक्षण गरिरहेको भन्दै कार्की सरकारविरुद्ध नारा लगाइरहेका थिए ।
त्यसैमध्येका एक जेनजी अभियान्ता हुन् अनिल सिंह । उनी कडा र निरन्तर रुपमा कार्की सरकारप्रति प्रहार गरिरहेका थिए ।
अति दलीकरणले गर्दा जनताले न्याय नपाएपछि आफूहरुले विद्रोह गर्नु परेको सिंहको भनाई छ । तर आजको सुशीला सरकारले भ्रष्टाचारीलाई कारवाही गर्नुको साटो पुरस्कार दिइरहेको उनको आरोप छ । जेनजीकै भनिएको सरकारप्रति पनि उनको कडा रोष रहेको छ ।
उनी भन्छन्,‘आज सरकारमा गएका भनिएका जेनजीका प्रतिनिधि भनिनेहरु विदेशी आइएनजीओको दलाल हुन् । बाँकी सडकमा आन्दोलित जेनजीहरुका वास्तविक जेनजी हुन् र उनीहरुको मागहरु अझै पुरा भएका छैनन् । जायज मागहरु उठाएर सडकमा आएका बेला भाद्र २३ गते ओली सरकारले गोली नचलाएको भए आज यो अवस्था आउने थिएन ।’
सिंहले वास्तविक जेनजीहरु आफू भएको र आफना मागहरु पूरा नभएकोले आन्दोलन पनि निरन्तर जारी राखेको बताए ।
उनले भाद्र २४ गते भएको आगजनीको जिम्मा आफूहरुले नलिने भन्दै हामीले कार्यक्रम गर्ने ठाउँमा एमाले, कांग्रेस र माओवादीका मान्छे आएर किन हुलदंगा मच्चाएको ? कांग्रेस एमालेका कार्यकर्ताले देशभर आगजनी गर्ने हामीलाई आरोप लगाउने ? के यो देश एमाले, कांग्रेस र माओवादीको मात्र हो ? स्वतन्त्र नागरिकको यो देश होइन ? यो देशमा बाँच्नको लागि दलहरुको झण्डा बोक्नै पर्ने हो ? भन्दै प्रश्न गरे ।
अचम्मको कुरा त उनले आज सरकार चलाएका एनजीओका दलालहरुलाई हामीले पठाएको होइन भन्न भ्याए । विदेशी साम्राज्यवाद र टिओबी (तिब्बतीयन ओर्जिनल ब्लड)का अर्थात् स्वतन्त्र तिब्बत पक्षीय) दलालहरुले उनीहरुलाई सरकारमा पठाएको हो भन्दै उनले भाद्र २३ गते जनताका छोराछोरीको छातीमा गोली हान्नेहरु खुलेआम सडकमा हिँड्ने तर दुर्गा प्रसाईं र निकोलस भूसालहरुलाई जेल हाल्ने ? के भएको हो ? भन्दै प्रधानमन्त्री कार्कीप्रति कडा प्रश्न गरे ।
हो, यो सरकार वास्तविक जेनजीको भएको भए जनताको आवाज उठाउनेहरुलाई जेल हाल्दैनथ्यो र घाइतेहरुको उपचार गर्थ्यो । एक प्रसंगमा अभियान्ता सिंहले सिंहदरबार र सर्वोच्च अदालत जलाउनेहरु कांग्रेस, एमालेकै कार्यकर्ता भएको आरोप लगाए ।
दलका नेताहरुको घर जलाउनेहरु दलकै कार्यकर्ता भएको र जनेजीलाई आरोप मात्र लगाइएको उनको भनाई छ । यदि उनको भनाईलाई विश्वास गर्ने हो भने दलका कार्यकर्ता उनकै नेताहरुबाटै कति असन्तुष्ट छन् भन्ने बुझ्न सकिन्छ ।
आज दलका नेता चर्पीभन्दा बढी गन्हाएका उनको भनाई छ । सुशीला कार्कीले सरकारमा जानेबेला यी भ्रष्टहरुलाई ५ दिनमा कारवाही गरेर फाल्छु भनेकी थिइन् तर आजसम्म पनि कारवाही नहुनु विडम्बना भएको सिंहको गुनासो छ ।
सुशीला कार्की बिक्री भएकोले केपी ओली कुर्लिंदै हिँडेको भन्दै उनले यो सरकारलाई आफ्नो सरकार नमानेको र वास्तविक जेनजीको माग पुरा गराउन अर्को आन्दोलनको उठान गर्ने दाबी गरे ।
सोही समारोहमा अर्का जेनजी अभियान्ता धरणिधर दाहालले यदि जेनजीमाथि फेरि दमन भयो र आन्दोलनको माग अनुसार सरकारले काम गरेन भने बारामा झैं काठमाडौं लगायतका जिल्लामा पनि प्रतिरोध गर्नुपर्ने धारणा राखे ।
जेनजीका माग पूरा नहोउन्जेल अपराधीहरुलाई मुन्टो उठाउन दिनु नहुने उनको भनाई छ । जेनजी आन्दोलन दबाउने केपी ओली र तत्कालीन प्रहरी महानिरीक्षक खापुङहरु अपराधी र हत्यारा भएको उनको ठोकुवा छ । भ्रष्टाचार काण्डका नाइके कांग्रेस एमालेका नेताहरु पनि अपराधी हुन् भन्न पनि उनले भ्याए । भ्रष्टाचार जोगाउन जेनजीका टोउकोमा गोली हान्न लगाउने कांग्रेसका नेताहरु नै अपराधी भएको उनको ठम्याई छ ।
आज सरकारमा गएका जेनजीको एउटा समूहप्रति आक्रोस व्यक्त गर्दै उनले भने,‘जेनलाई पुराना पार्टीमा फर्केर आफ्नो स्थान सुरक्षित गर्न आदेश दिने गृहमन्त्री ओम अर्याल धोकेवाज हुन् । सुशीला र ओमहरु पुरानै पार्टीका छायाँ हुन् । यिनीहरुले जेनजीका माग पुरा गर्दैनन् । जेनजी सतर्क हुन जरुरी छ । मौकाले सुशीला प्रम भइन् तर उनी एमालेकै कार्यकर्ता हुन् । अब हामी सुशीला कार्कीको राजीनामा माग्न बाध्य भएका छौं । हामी भ्रष्टहरुलाई कारवाही गर भन्छौं, उनी चुनाव गरौं भन्छिन् ।’
चुनाव १ वर्ष पछि सारेपनि आकाश नखस्ने भन्दै दाहालले पहिला भ्रष्ट र हत्यारालाई कारवाही हुनुपर्ने र सुशासन नहुँदै चुनावमा गए फेरि तिनै भ्रष्टहरु सरकारमा जाने बताए ।
फेरि पनि कांग्रेस एमालेका भ्रष्टलाई सरकारमा लैजान जेनजीले रगत नबगाएको भन्दै उनले अबको एक शुत्रीय माग भने सुशीला कार्कीको सरकार फाल्ने हुनुपर्ने बताए । प्रम सुशीला कार्कीमा एमालेको गन्ध आएको भन्दै उनले एमालेका भ्रष्टहरुलाई कारवाही नगर्ने बताए ।
माइतीघरमा जम्मा भएका जेनजी नेताहरुमध्ये केहीले आफूहरुलाई केपी ओलीले आफ्नो सरकार आएपछि आफ्नो घर जलाउनेलाई कारवाही गर्ने धम्की दिएको गुनासो मिडियासामु पोखिरहेका थिए ।
केपी ओलीले गुण्डुमा बसेर गुण्डाराज चलाएको उनको आरोप थियो । सोही क्रममा एक जेनजी नेताले वास्तविक जेनजीलाई धोका दिएको भन्दै मिराज ढुंगाना र सुदन गुरुङहरुप्रति रोष प्रकट गरिरहेका थिए । सायद आन्दोलनलाई धोका दिने धोकेवाज पनि आन्दोलनबाट उदाउँछन् भनेको यही होला । जेनजीमाथि अन्याय भएको र न्याय नदिए फेरि पनि त्यस्तै विद्रोह गर्ने दिन आउने पनि उनको चेतावनी थियो ।
सोही क्रममा एकजना महिला जेनजी नेतृले जेनजी उमेरका नेताका छोराछोरीलाई आफ्ना बाबुले भ्रष्टाचार गरेर कमाएको सम्पति बारे आफ्ना बाउलाई प्रश्न गर्न आग्रह गरिन् ।
घाइतेको उपचार र मारिएकाहरुलाई न्याय नदिँदासम्म बब्लु गुप्ताहरु सरकारमा नजानु पर्ने उनको भनाइ रहेको छ ।
काठमाडौं महानगरमा कर्मचारीको रुपमा कार्यरत अर्का एकजना जेनजी युवाले भने ब्यापक भ्रष्टाचार भएको देखेर त्यसको अन्त्यको लागि आफू यो आन्दोलनमा आएको दाबी गरे । बुटवलको एक सरकारी कार्यालयमा २०० रुपैयाँ खाजाको लागि सरकारी छुट्याइएकोमा ४० रुपैयाँको समोसामा खुवाएर भ्रष्टाचार गरिएको अनुभव सुनाए ।
अर्का अभियान्ता तथा जेनजी मुभमेन्ट अफ नेपालका संयोजक अजय सोडारीले राष्ट्रिसभामा जान ३५ वर्ष उमेर पुगेको हुनुपर्ने भएकोले जेनजीका प्रतिनिधि त्यहाँ जान नसक्ने भएकोले संविधान संशोधन गर्नुपर्ने बताए ।
अख्तियार र न्यायालय जस्ता ठाउँमा जेनजीहरु पुग्नको लागि देशको कानून बाधक रहेकोले यी सबैलाई बदलेर युवाहरुलाई ती सेवा क्षेत्रमा पुग्ने बाटो खोलिदिनुपर्ने उनको भनाई छ ।
जेनजीहरुको आन्दोलनलाई सुरक्षा निकायले सुरक्षा दिन नसक्नु पनि दलीयकरण नै भएको उनको आरोप छ । जेनजीको रगतबाट बनेको सरकारले आफ्ना मागहरुलाई अपहरण गरेर आफ्ना कुनै पनि मागहरु पूरा नगर्ने बाटोमा गएको उनको दाबी छ ।
जेनजीका हत्यारा र भ्रष्टहरुलाई कारवाही गर्नुको साटो यो सरकारले जेनजीहरुलाई नै थुन्ने काम गरिरहेको सोडारीको आरोप छ । संसद भवन अगाडी ढलेको जेनजी युवाले चुनाव मागेको होइन भ्रष्टहरुमाथि कारवाहीको माग गरेको थियो भन्दै उनले जेनजीको माग चुनाव नभएको बताए ।
उनले आक्रोसित भावमा आफ्ना माग पुरा नभएसम्म चुनाव हुन नदिने दाबी पनि गरे ।
भ्रष्ट र हत्यारालाई कारवाही नभइकन चुनाव भएमा पुरानै दलहरु आउने र उनले उल्टै जेनजीहरुलाई कारवाही गर्ने उनको भनाई छ । कार्यक्रममा भ्रष्टाचारीलाई कारवाही गर, नेपाल आमालाई न्याय दे, हत्यारोलाई फाँसी दे, जेनजीका माग पुरा गर लगायतका नाराहरु लगाइएका थिए ।