• फाल्गुन २३ २०८२, शनिबार

जेनजीकाे झापडपछि पछाडि फर्केर बामेसर्दै संसदवादी पार्टीहरू

कार्तिक २३ २०८२, आईतवार

नारा निकै ठुल्ठुला दिने तर काम भने कहिल्यै गर्न नपर्ने नेपालका प्रजातान्त्रिक तथा साम्यवादी पार्टीहरू जेन्जी आन्दोलनपछि पछाडि फर्केर बामे सर्ने अवस्थामा पुगेका छन् । सबै पार्टीहरू आफूलाई सुधार गर्ने र सच्चिने नाममा विचार र नाराका हिसाबले पछाडि फर्केर हेर्न बाध्य भएका छन् ।

एकताका समाजवादी क्रान्ति सम्पन्न गर्ने ध्याउन्न र नारामा केन्द्रित ती पार्टीहरू अहिले फगत कुराले मात्र पेट नभरिने र देश नबन्ने भन्ने युवा पङ्क्तिको घचघच्याइपछि ऐठनमा परेझैं होसमा आउन थालेका देखिन्छन् ।

फलतः साम्यवादी पार्टीहरू वाम तथा प्रगतिशील अभियानमा जुट्न थालेका छन् । हिँजोका उनीहरूकै भाषमा संसदवादी, संशोधनवादी, यथास्थितिवादी रहेका राजनीतिक पार्टीहरू ३० वर्षको अन्तरालमा प्रगतिशील देखिन पुगेका छन् । उनीहरूसँग गठजोड र हातेमालो अघि बढिरहेको छ ।

नेपालमा प्रजातन्त्रको नाममा अघि बढिरहेको नेपाली काँग्रेस गतिहीनताको नजरबन्दमा परिरहेको छ । वीपीको प्रजातान्त्रिक समाजवाद उनीहरूका लागि एक काल्पनिक वा महाकाव्यीय रामराज्य मात्र हुन पुगेको छ । उनीहरू देशमा आयातित दलाल पुँजी र दलाल पुँजीवादी व्यवस्थाको फेरो समाउन पनि असक्षम साबित हुँदै आएका छन् ।

साम्यवादी पार्टीहरू पछाडि फर्कनु पर्ने र पुनः वामे सर्न थाल्नु पर्ने अवस्थामा पुगेका छन् । अब व्यवहारतः बामे सर्ने अवस्थामा पुगेकाले पनि उनीहरूलाई बामे सर्ने पार्टी वा वाम पार्टी भन्न सुहाउने भएको देखिन्छ । राजनीति वा राजनीतिक नारा वा राजनीतिक कार्य सपना देखेर वा चाहेर मात्र संभव छैन ।

राजनीतिक कार्य देश, काल र परिस्थिति अनुसार यथार्थताको धरातलमा टेकेर मात्र संभव हुन्छ । हावादारी कुरा बाँडेर हुँदैन । यसको अर्थ वीपीको प्रजातान्त्रिक समाजवादको कुरा, पुष्पलालका जनवादी क्रान्तिका कुरा यथार्थताको जगमा उठाइएका थिएनन् भन्ने होइन । बरू ती कुरा पूरा गरिएनन्, पछिल्ला पुस्ताका राजनीतिकर्मीहरूबाट ! तिनका लक्ष्य पूरा नहुँदै वा काम नहुँदै पछिल्ला नेता र राजनीतिककर्मीहरूले त्यसमा आफ्ना मनगढन्ते सपनाका रङ्गीचङ्गी थुँगा थपेर आफूलाई देवत्वकरण गर्नतिर लागे ।

गल्ती यहीँनेर हुन गयो । नेपाली काँग्रेस आफैमा प्रजातान्त्रिक अग्रगमनको बिडाे वा दायित्व बहन गर्न सक्ने क्षमताको नेतृत्व पाउन असक्षम रहँदै आयो । विचार र कार्यक्रम बन्न र नेपाली समाजलाई डोर्‍याउन सक्ने अवस्थाको त्यहाँ सर्वथा अभाव रहँदै गयो । अहिले त कङ्शले वासुदेव र देवकीलाई बन्दी बनाएजस्तो अवस्थामा छ, नेपाली काङ्ग्रेस !

वाम पार्टीहरूमा एमालेले सधैं हावादारी तर लोकप्रिय अवसरवादी कुरा अघि सार्दै आयो । थल न ठेगान वा न त लक्ष्य छ, न त उद्देश्य, एमालेले देश र जनतालाई गतिहीनतामा रूमल्याउँथ्यो, त्यो साँचो थियो र हो पनि । व्यवहारतः त्यही पुष्टि भएको छर्लङ्ग छ ।

माओवादीले नेपाल र नेपाली समाजको जनवादी रूपान्तरणको प्रक्रियालाई अभियानका रूपमा अघि बढाउन खोज्यो । तर यसको नेतृत्व इमान्दार र विचारवान हुन सकेन । परिआएका समस्या र सिर्जित नयाँ परिस्थिति अनुसार यसले आफूलाई नै रूपान्तरण गर्न सकेन । फलतः यो अरूकोे ग्य्राण्ड डिजाइन अनुसार चल्ने र नाच्ने पङ्क्तिमा रूपान्तरण हुँदै गयो ।

विचार विकास नहुनु, नेतृत्व भुत्ते हुनु, कार्यनीतिगत समस्या प्रबल बन्नु र कुटनीतिक पहलकदमी लिन र तदनुरूप व्यवहार गर्न नसक्नु यसका मुख्य कारण थिए । तर नेपाली काङ्ग्रेस होस् वा कम्युनिष्ट पार्टीहरू, तिनका कार्यकर्ता र शुभचिन्तक जनता भने सापेक्ष दक्ष, इमान्दार र जनतामा लोकप्रिय भने थिए ।

यी कारण नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादको सामाजिक रूपान्तरणको थेसिस विफल हुन गयो । एमालेको धरातलविहीन ऐजेरूरूपी पपुलिष्ट वा लोकप्रिय बहुदलीय जनवादको थेसिस स्वतः असफल हुन पुग्यो । सारतः यो एनजीओकृत हुन पुग्यो ।

अर्कोतिर माओवादीको नेपाली नयाँ जनवादी थेसिस एक्काइसौं शताब्दीको अमूर्त र हावादारी जनवादको नाममा हावामै बिलिन हुन पुग्यो । यथार्थमा जनयुद्ध लडिए पनि रूपान्तरण हुन नसकेको नेतृत्वले गरेको बाह्य प्रभावित फगत बौद्धिक कसरतबाट पछिल्ला चरणमा बन्दै गएको विचार र कार्यबाट आकाशको फल झर्ने पनि थिएन । झरेन पनि ।

तर नेपाली समाजको रूपान्तरणको प्रक्रियालाई एक पटक नेपाली काङ्ग्रेसले बलियो गरी २००७ सालको क्रान्तिमा र माओवादीले लडखडाउँदै भए पनि पहिलो संविधान सभाको निर्वाचनमा भने समाउन पुगेका थिए । यी पहल र पहलकदमी नेपाली समाज रूपान्तरणको प्रक्रियामा सही पकड भने अवश्यै थिए ।

नेपालको प्रजातान्त्रीकरणको प्रक्रिया नेपाली काँग्रेसको पहलमा जनधारसहितको तात्कालीन क्रान्ति र संविधानसभामार्फत् जनताका हकअधिकार सुनिस्चित गर्ने कार्य माओवादीको पहलमा जनाधारसहितको जनयुद्धको बलमा भएको थियो । तर यथार्थता के हो भने २००७ सालमा नेपाली काँग्रेसले छोडेको संविधान सभामार्फत् नेपाली जनतालाई सार्वभौम बनाउने सामाजिक अग्रगामी प्रक्रियाको दायित्व माओवादीले करिब ६ दशकपछि मात्र लिन सकेको थियो ।

यति ठूलो राजनीतिक अन्तरालमा देश सामाजिक तथा राजनीतिक रूपान्तरणको भूमरीमा फनफनी घुमिरहेको थियो । सिधा गति लिन सकिरहेको थिएन । अहिले फेरि अर्को भूमरीको चक्र सुरू भएको छ । यसलाई पूरा गर्ने कार्यभार नयाँ पुस्ता र पङ्क्तिले लिन कति सक्छन् हेर्न भने बाँकी छ ।

याे अवस्थामा आफ्ना कार्यभार पूरा गर्न नसक्ने राजनीतिक पार्टीहरू पछाडि फर्केर सिर्जित नयाँ भूमरीमा बाध्यात्मक ‘भ्यागुते पौडी’ खेल्नुको विकल्प छैन । किनभने देशको भूराजनीतिक अवस्था, विश्व शक्ति केन्द्रहरूको रस्साकस्सीपूर्ण चलखेल र तात्कालिन राजनीतिक दलहरूको अविवेक र असक्षमताले मार्ग यही छनौट गरिसकेको छ ।

क्रन्दन र रोदनले केही गर्ने देखिदैन । समय निर्मम छ । गल्तीको भागिदार भइसकेका छन्, राजनीतिक पार्टी र यसका नेतृत्वहरू !