• जेष्ठ ३१ २०८३, आईतवार

बेथानचोक–३ मा सम्पन्न स्वास्थ्य शिविरबाट ६०१ जना लाभान्वित

जेष्ठ ३१ २०८३, आईतवार

काठमाडौँ l काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ३, ढुंखर्कस्थित श्री कृष्ण गोपाल माध्यमिक विद्यालयमा आयोजना गरिएको दुई दिवसीय “निःशुल्क स्वास्थ्य शिविर–२०८३” भव्यताका साथ सम्पन्न भएको छ।

एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल (NCC Alumni Association Nepal) को आयोजना, राष्ट्रिय सेवा दल (NCC) र नेपाली सेनाको मुख्य प्राविधिक सहयोग तथा बेथानचोक गाउँपालिकाको स्थानीय समन्वयमा जेठ २९ र ३० गते शिविर सञ्चालन गरिएको थियो।

‘सैनिक–नागरिक सम्बन्ध’ सुदृढ बनाउने र ग्रामीण भेगका नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित उक्त शिविरबाट कुल ६०१ जना स्थानीय बासिन्दाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

शिविरमा नेपाली सेनाका वरिष्ठ विशेषज्ञ चिकित्सकसहितको १५ सदस्यीय मेडिकल टोलीले बिरामीहरूको स्वास्थ्य जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरेको थियो।

शिविरको पहिलो दिन (जेठ २९ गते) बिहान ११:०० बजे विद्यालय प्राङ्गणमा औपचारिक उद्घाटन समारोह आयोजना गरिएको थियो। एन.सि.सि. मुख्यालय को व्यवस्थापनमा सम्पन्न उक्त समारोहको समुद्घाटन श्री मेहर गणका गणपति प्रमुख सेनानी झलक सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा राष्ट्रिय सेवा दलका तालिम योजना तथा समन्वय अधिकृत  विमल के.सी, बेथानचोक गाउँपालिकाका जनप्रतिनिधिहरू, नेपाली सेना तथा NCC का वरिष्ठ अधिकृतहरू, स्थानीय समाजसेवी, श्री कृष्ण गोपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।

पहिलो दिन बेथानचोक क्षेत्रका ८ वटा विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। जसअन्तर्गत १६७ जना छात्र र २३१ जना छात्रा गरी जम्मा ३९८ जना विद्यार्थीहरूले विशेषज्ञ चिकित्सक टोलीद्वारा स्वास्थ्य जाँच, परामर्श तथा निःशुल्क औषधि प्राप्त गरेका थिए।

त्यसैगरी, पहिलो दिन एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल का स्वयंसेवकहरूले विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइ (Personal Hygiene), महिनावारी स्वास्थ्य सचेतना (Menstrual Hygiene), मानसिक स्वास्थ्य र किशोर–किशोरी सुस्वास्थ्य (Mental Health and Psychological Well-being) सम्बन्धी अभिमुखीकरण तथा सचेतनामूलक कक्षा समेत सञ्चालन गरेका थिए ।

शिविरको दोस्रो दिन (जेठ ३० गते) स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी स्वास्थ्य सेवा प्रदान गरिएको थियो। जसअन्तर्गत ९८ जना पुरुष र १०५ जना महिला गरी कुल २०३ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका थिए। यस क्रममा दीर्घकालीन रोग, आँखा, कान तथा अन्य सामान्य स्वास्थ्य समस्याहरूको परीक्षण गरी आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो।

शिविरको क्रममा आधारभूत स्वास्थ्य परीक्षणदेखि रक्तचाप, मधुमेह (सुगर), नाक, कान, आँखा तथा अन्य रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।

उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाको श्री वीरन्द्र सैनिक अस्पताल तथा नं. २६ बाहिनी अड्डाबाट ३ जना चिकित्सक र ७ जना प्यारामेडिकल टोली, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकबाट २ जना स्वास्थ्य अधिकृत तथा आँखा अस्पतालबाट ३ जना स्वास्थ्यकर्मी गरी जम्मा १५ सदस्यीय चिकित्सकीय टोलीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका संयोजक एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपालका केन्द्रीय सदस्य श्री समीर घिमिरेज्यू रहनुभएको थियो भने स्वयंसेवक व्यवस्थापनको प्रमुख जिम्मेवारी काभ्रे जिल्ला निर्देशक श्री आयुष मान लामालेनिर्वाह गरेका थिए । साथै, विभिन्न प्रदेश तथा जिल्लाका निर्देशकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

दोस्रो दिन (जेठ ३० गते) स्वास्थ्य जाँच र परामर्श कार्यक्रम सम्पन्न भएपछि दिउँसो ०४:०० बजे समापन समारोह आयोजना गरिएको थियो। बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दुई दिनसम्म खटिएका चिकित्सक, प्राविधिक तथा स्वयंसेवकहरूलाई कदर–पत्र तथा सम्मान–पत्र प्रदान गरिएको थियो।

उक्त अवसरमा अध्यक्ष अधिकारीले ग्रामीण भेगमा विशेषज्ञ स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराएकोप्रति आयोजक संस्थाप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय तथा उदाहरणीय कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले अपेक्षाभन्दा बढी सेवाग्राही लाभान्वित भएको उल्लेख गर्दै हरेक लाभग्राहीको अनुहारमा देखिएको खुसीले कार्यक्रमको सफलता झल्किएको बताए । साथै, आगामी दिनहरूमा पनि यस्ता सहयोग र सहकार्यका गतिविधिहरू निरन्तर अघि बढाउन गाउँपालिका सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

यसरी दुई दिनमा कुल २६५ जना पुरुष र ३३६ जना महिला गरी जम्मा ६०१ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।

आयोजक संस्थाले स्वास्थ्य शिविरको सफलताका लागि योगदान पुर्‍याउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि, विद्यालय परिवार तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।