अहिले एउटा भाष्य निर्माण भएको छ, ‘जेनजी सबथोक हुन्, जेनजी जे भन्छन्, त्यही गर्नुपर्छ ।’ जेनजी आन्दोलनले पुरानो सत्ता ढाल्यो, नयाँ सरकार बन्यो । तर अपरिपक्व विचार, चिन्तन, कार्यदिशा र दर्शन जेनजीसँग छैन । यसले अस्थिरता निम्त्याउँछ ।
अहिलेसम्म मन्त्रिपरिषद् पूरा हुन सकेको छैन । आन्दोलनका दोषी पक्राउ परिसकेका छैनन् । सुशीला कार्की सरकारले ६ महिनाभित्र निर्वाचन गराउने घोषणा गरेको छ । तर सुशासनका काम अघि बढ्न सकेको छैन ।
जेन्जी आन्दोलनअघि प्रजातन्त्रको नाममा दलभित्रका ‘शीर्ष’ भनिने नेताहरू पालैपालो सरकारमा जाने तर काम नगर्ने गर्दा २०७९ सालसम्म आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विकल्प देखे । रवि लामिछाने अबको एकमात्र विकल्प भन्ने भाष्य निर्माण गरियो । तर यसमा पनि स्पष्ट राजनीतिक सिद्धान्त र कार्यदिशा देखिएन ।
जेन्जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बहाल छ । यसमा सार्वजनिक सेवा र पत्रकारिता पृष्ठभूमि भएका मानिस सरकारमा आसिन छन् । यो कुहिरोको काग झैं अलमलमा छ । देशलाई अघि बढाउने स्पष्ट खाका यो सरकारसँग छैन ।
उता जेनजी पुस्तामा डिजिटल ज्ञान छ र यो पुस्ता पढेलेखेको पनि छ । तर पनि राजनीतिक सिद्धान्त, निष्ठा तथा कार्यदिशाबिना देश चल्न सक्दैन । डिजिटल ज्ञान र सीपले मात्रै राजनीतिलाई हाँक्न सक्दैन । जेनजी पुस्तामा थोरै राजनीतिक चेतना त छ, तर यतिमात्र राजनीतिक चेतना देश हाँक्न पर्याप्त हुँदैन ।
यो विशेषतः त्रिविलगायत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संघ, संगठनमा आबद्ध २८ वर्षमुनिका उमेर समूह हो । राज्यसत्ता सही सञ्चालनका लागि ‘भिजन, मिसन र एक्सन’ भएको राजनेता चाहिन्छ । यसको अर्थ यस अघिका नेताले निकै नै गरेका थिए भन्ने होइन । बिग्रिएको अवस्थालाई सुधार्न नेतृत्व सापेक्ष दक्ष र भिजनरी हुनुपर्छ । यस्ता नेतृत्वले मात्र देश र जनताको भाग्य र भविष्यलाई सही दिशामा डोर्याउन सक्छ ।
अहिले राजनीतिक बजारमा आएको भाष्य भनेको कार्की नेतृत्वको सरकार जेनजीको चाहनाअनुसार अघि बढ्नुपर्छ भन्ने हो । जेनजीको चाहना भन्नाले देश र जनतालाई अघि लैजाने समग्र कार्यदिशा बुझ्नु पर्छ । त्यस खाले कार्यदिशा जेनजीमा देखिदैन ।
अहिले नेपाली समाज राजनीति कित्तामा विभाजित छ । समाजमा ‘जातजाति, धर्म, लिंग, वर्ग र राजनीतिभन्दा माथि देश हुन्छ’ भन्ने चेतना अत्यन्त कमजोर भएको अवस्था छ । देश हामी सबैको साझा सम्पत्ति हो ।
देश भूगोल मात्र होइन, यसको सम्बन्ध माटो, जनता, संस्कृति, इतिहास, धर्म, समाजिक एकता, सद्भाव, आपसी मेलमिलापसँग जोडिएको हुन्छ । यही भावनात्मक सम्बन्धलाई ‘राष्ट्रियता’ भनिन्छ ।
देश भूगोल मात्र होइन, यसको सम्बन्ध माटो, जनता, संस्कृति, इतिहास, धर्म, समाजिक एकता, सद्भाव, आपसी मेलमिलापसँग अभिन्न जोडिएको हुन्छ । फुटेर होइन, जुटेर मात्र देश निर्माण गर्न सकिन्छ ।
नेपाल आमालाई उनका सन्तानबाट चोट पुर्याउने काम कहीँकतैबाट पनि गरिनु हुँदैन । देशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदामा आगजनी गर्ने, जलाउने, ध्वस्त पार्नेजस्ता कार्य नेपाल आमालाई चोट पुर्याउने काम हो ।
घरमा भएका मुसा मार्न औषधि प्रयोग गर्ने वा बिरालो पाल्ने कि घरमा आगो लगाएर मुसा मार्ने कार्य गर्ने ? यो कुरा गहिरो गरी सोच्नुपर्छ । देश सङ्कटको घडीमा हुँदा पनि कार्की नेतृत्वको सरकारले पूर्णता पाउन सकिरहेको छैन । अहिले देश अगाडि बढाउने मार्गचित्रको अभाव छ । यो अभाव पहिले पनि थियो र अहिले पनि यथावत् छ ।
नयाँ नेपाल बनाउने भाष्य निर्माण गरेर तीन तीनवटा सरकारी संरचना बनाइए । देशले थेग्नै नसक्ने भार लाादियो । यति सानो देशमा ८ सय ८६ सांसद बनाइयो । सयौंको सङ्ख्यामा मन्त्री बन्ने संरचना बनाइयो ।
अहिले जनता आजित छन् । असन्तुष्टिका बिचमा जेनजी आन्दोलन भएको छ । अन्तरिम सरकार बनेको छ । तथापि जनता त्यति आशावादी छैनन् । देशको भविष्य कसरी निर्माण गरिने हो, गहिरो चिन्ताको विषय बनेको छ ।