• फाल्गुन २३ २०८२, शनिबार

तिहारमा दाजुभाइलाई किन लगाइन्छ ‘सप्तरङ्गी’ टिका ?

आश्विन ३१ २०८२, शुक्रबार

तिहारमा दाजुभाइलाई ‘सप्तरङ्गी’ टिका लगाइन्छ । नेपालीहरुको महान चाडमध्ये भाइटिका चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ ।

धार्मिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दैभाइटिका लगाइदिएकी थिइन् ।उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि,तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् । यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भएको थियो तर समयसँगै भाइटिकामा सप्तरङ्गी टिका लगाइदिने चलनको विकास हुँदै गएको मानिन्छ ।

चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।

सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टिका लगाउन भन्छ । त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।

त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्त्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ ।

दाजुभाइलाई टिका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ ।