• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो : प्रचण्ड

आश्विन २४ २०८२, शुक्रबार

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको बताएका हुन् ।

‘कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने उहाँ(केपी ओली) हो, ‘प्रचण्डले भने, ‘केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त ? उहाँ (ओली) नै सिफारिसकर्ता हो ।’ उनले आफूहरू उक्त प्रक्रियाको साक्षी मात्रै रहेको बताए ।

प्रचण्डले देश गम्भीर सङ्कट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्विकार्दै यसको समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेकोमा जोड दिए ।

‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको सहमति देखियो,’ उनले भने, ‘यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी सबै सम्मिलित राष्ट्रिय राजनीतिक सहमतिको खाँचो छ ।’