काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवात गरिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थोपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो ।
शल्यक्रिया हिजो (बिहीबार) सफलतापूर्वक सम्पन्न भएको राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा कुलदीप मंगल जोशीले बताए ।
सबै सामग्री सेटअप भइसकेपछि सामान्यतया १ घन्टाभित्र सम्पन्न गर्न उक्त शल्यक्रिया पहिलोपटक गरिएकोले करिब २ घन्टा समय लागेको डा जोशी बताउँछन् ।
एक महिना अघि ट्रमा सेन्टरले यस प्रकारको शल्यक्रियाका लागि सामग्री ल्याएको थियो । यो सँगै अब शल्यक्रिया सहज भएको उनले जानकारी दिए । विगतमा चिरफार नै गर्नुपर्ने अवस्था रहेकोमा अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिने डा जोशी बताउँछन् ।
‘विगतमा चिरफार नै गर्नुपर्ने अवस्था रहेकोमा अब सानो प्वाल पारेर शल्यक्रिया गर्न सकिनेछ । यो सेवासँगै बिरामीको अस्पताल बसाइ कम हुनेछ,’ उनले भने । केही निजी अस्पतालहरुमा यस प्रकारको शल्यक्रिया यसअघि नै हुने गरेकोमा राष्ट्रिय ट्रमा सेन्टरमा भने यसको सुरुवात बिहीबारबाट भएको हो ।
ट्रमा सेन्टरमा उक्त शल्यक्रियाको सुरु भएसँगै निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यस्तो शल्यक्रियामा इम्प्लान्ट लगाउनुपर्दैन । निजी अस्पतालमा भन्दा धेरै सस्तो सेवा राष्ट्रिय ट्रमा सेन्टरले दिन सक्ने डा जोशी बताउँछन् ।
निजी अस्पतालमा १ लाखसम्म पर्न सक्ने उक्त शल्यक्रिया ट्रमा सेन्टरले २०–२५ हजारमा दिने उनको दाबी छ । ट्रमा सेन्टरमा शल्यक्रियाको शुल्क मात्रै लाग्छ ।
के हो इन्डोस्कोपिक स्पाइन सर्जरी ?
यो विशेषगरी नशा च्यापिने समस्या भएका बिरामीहरुमा गरिने सर्जरी हो । यसअघि त्यस्तो समस्याका बिरामीहरुमा चिरफार गरी शल्यक्रिया गरिन्थ्यो । नशा च्यापिएर गोडा चलाउन गाह्रो हुने, झम्झम्याउने समस्या भएका बिरामीमा यस्तो शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
चिरफार गरेर शल्यक्रिया गर्नुपर्दा घाउ ठूलो हुने भएकोले रगत धेरै बग्ने जोखिम रहन्थ्यो । इन्डोस्कोपिक स्पाइन सर्जरीको सुरुवातले उक्त जोखिमलाई घटाएको डा जोशीको दाबी छ ।
इन्डोस्कोपिक स्पाइन सर्जरीमा सानो प्वाल पारेर नशालाई च्यापेको पदार्थलाई निकाल्ने गरिन्छ । जसले गर्दा घाउ छिटो निको हुने, रगत कम बग्ने, शरीरमा भएको मांशपेसी पुरानै अवस्थामा रहने र संक्रमण हुने दर पनि न्यून हुने हुँदा बिरामी छिटो स्वस्थ हुने गर्छन् ।
त्यस्तै यस प्रविधिको सुरुवातले लामो समयसम्म एनेस्थेसिया दिनुपर्ने अवस्थाको पनि अन्त्य गरेको छ ।