• फाल्गुन २३ २०८२, शनिबार

जेनजी विद्राेह : चुनावमा जाने कि ‘वल्ला घरकाे नरे, पल्ला घर सरे’ गर्ने ?

आश्विन २३ २०८२, बिहीबार

नेपालको इतिहासमा २८ वर्ष मुनिरहेका युवा समूहको जेनजी आन्दोलनले ३० घण्टाभित्र अभूतपूर्व परिवर्तन ल्यायो । भदौ २३ देखि सुरू भई भदौ २४ मध्यान्हसम्म पुग्दा नपुग्दै राज्यका तीनवटै अङ्गमाथिको आक्रमण आश्चर्यजनक रह्यो ।
सुरूको दिन भएको विरोध प्रदर्शनमा सरकारद्वारा बलप्रयोग गर्दा काठमाडौं, सुनसरी र पर्सामा २१ जना युवाको ज्यान गयो । यसको आक्रोश दोस्रो दिन २४ भदौमा देखियो । देशका प्रधानमन्त्री र राजनीतिक दलका नेता सेनाको सुरक्षामा पुगे ।
राज्यका प्रमुख तीन अङ्ग र तिनका मुख्यालय रहेका सिंहदरबार, संसद् भवन र न्यायिक आस्थाको धरोहर सर्वोच्च अदालत आगोको लप्कामा परे । नेताका घर जले । जलेका घरमा रूपैयाँका बिटा र त्यसको खरानी देखियो ।
आन्दोलन मोफसलमा पनि सर्दै गयो । मोफसलका सरकारी भवन र नेताका घरसम्पत्ति पनि आगजनीमा परे । यद्यपि जेनजीले आफ्नो आन्दोलनमा घुसपैठ भई यी घटना भएको बताइसकेको छ ।

हातमा कापीकलम र ल्यापटप समात्ने जेनजीले यी विध्वंस मच्चाए होला ? भनेर कसैले पनि पत्याएका छैनन् । आन्दोलनमा भएअनियन्त्रित घुसपैठले आन्दोलनको ध्येय हिंसामा परिणत गराएर छाड्यो । सबै घटना बालकृष्ण समले भनेझैं ‘नियमित आकष्मिकताका कारण’मात्र घटदैनन् । विज्ञानले ‘कतै धुवाँ देखियो भने आगो लागेकै हुुनुपर्छ’ भन्छ । आगो र धुवाँबीच कार्यकारण सम्बन्ध छ ।

जेनजी आन्दोलन पनि अनायास भएकै होइन । हामीकहाँ केही वर्षयता भ्रष्टाचारले सीमा नाघेको थियो । संसदमा कुनै पनि दलको बहुमत नभएका कारण सरकार बनाउने र ढाल्नेक्रम जारी थियो । गठबन्धनका नाममा पुराना विचार भएका राजनीतिक दल जुनसुकै घाटको पानी खान पनि तयार रहेका थिए । ‘वल्लो घरको नरे पल्ला घर सरे’ गर्दै एउटै अभिप्सा सत्तामा जानुथियो ।
अनियमितताका फाइल खोल्ने तयारीलगत्तै सरकारी गठबन्धन एकाएक फेरियो । माओवादीसँग सहकार्य छाडेर एमालेले कांग्रेसको समर्थनमा सरकारको नेतृत्व आफै लियो । यसपछि सहकारी ठगी प्रक्रियामा संलग्न भएका कारण रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही भयो ।

उनलाई अनुसन्धानका लागि भनेर धेरै जिल्ला घुमाइयो । उस्तै प्रकृतिका घटनामा कसैले सफाइ पाए, कसैले तारेखमा छुट्न पाए । सदनमा गृहमन्त्रीमाथि ‘भिजिट भिसा प्रकरण’को आरोप लागेर उनको राजीनामा मागियो । ‘नक्कली भुटानी शरणार्थी प्रकरण’का एकथरी आरोपित सदनमै देखिए । अनुसन्धान गर्नेक्रममा कसैलाई छाड्ने र कसैलाई मुद्दा दायर गर्ने काम भयो ।

सबै घटना बालकृष्ण समले भनेझैं ‘नियमित आकष्मिकताका कारण’मात्र घटदैनन् । विज्ञानले भन्छ, ‘कतै धुवाँ देखियो भने आगो लागेकै हुुनुपर्छ ।’ आगो र धुवाँबीच कार्यकारण सम्बन्ध छ । जेनजी आन्दोलन पनि अनायास भएकै होइन । हामीकहाँ केही वर्षयता भ्रष्टाचारले सीमा नाघेको थियो ।

यो घटनालाई लिएर सदनमा प्रतिशोध साँधेको आरोप सरकारमाथि विपक्षी दलले लगातार लगाइरहे । देशमा जतिसुकै ठूला घटना घटे पनि ‘आलापालो सरकार चलाउने’ भनेर संसद्का दुुई ठूला दल दिनगन्ती गर्दै बसे । संसदीय परम्परामा पहिलो र दोस्रो ठूलो दलले ‘सरकार बनाउँदा निरंकुशता हावी हुन्छ’ भनेर धेरै विश्लेषकले भने तर सरकार सञ्चालक दलले सुनेनन् ।

विद्युत प्राधिकरणलाई ठूला उद्योगपतिसँग २१ अर्बभन्दा बढीको बक्यौता उठाउन दिइएन । उल्टै कुलमान घिसिङलाई असमयमा नै कार्यकारी निर्देशकबाट हटाइयो । यसले गर्दा जनआक्रोश बढी नै रहेको थियो ।
विश्वविद्यालयका उपकुलपतिलाई काम गर्न दिइएन । शिक्षक आन्दोलन भयो, उनीहरूका मागको उचित सम्बोधन हुन सकेन । सरकार बन्ने बेला एमाले र नेकाबीच संविधान संशोधनको एउटा एजेण्डा राखिएको थियो तर यसबीच संशोधनको कुनै पनि चर्चा गरिएन ।

यसरी चौतर्फी विकृति, विसंगति, कुशासन र पूर्वाग्रही अनुसन्धानका कारण आमनागरिक मात्र होइन, जेनजी पुस्ता पनि रूष्ट थियो । उनीहरूलाई थप असन्तुुष्ट बनाउनका लागि पछिल्लोपटक सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नै लगायो ।
अन्ततः सत्तारूढ एमाले–काङ्ग्रेसका कारण काठमाडौं जलेर खाक भयो । मोफसलमा पनि निकै भौतिक क्षति भएको छ । देशको राजनीतिक संरचना ध्वस्त भएको छ । सरकारले जेनजी आन्दोलनलाई कम आँकलन गर्नु र पहिलो दिन बल प्रयोग गर्नु नै मुख्य कमजोरी देखियो ।

सरकार र राजनीतिक दलका नेतामा नयाँ पुस्ताको सोचाइ र बुझाइ कमी नै जेनजी आन्दोलनको कारण र परिणाम भन्न सकिन्छ । जेनजीले नेपाललाई युवा सोचकेन्द्रित राष्ट्रको जग सिर्जना गरेको छ । जेनजीले आदर्श नागरिकको प्रतिनिधित्व गर्ने प्रयास गर्दै छन् भन्न सकिन्छ ।

इतिहासमा पहिलोपटक जेनजीले पुरानो राजनीतिक नेतृत्वलाई सफलतापूर्वक चुनौती दिएका छन् । यसअघि जेनजी पुस्ता अघिल्ला पुस्ताको आह्वानमा गरिएका आन्दोलनमा सहभागी हुँदै आएका थिए ।

अबका दिनमा सरकारले आगामी २१ फागुनमा निर्वाचन तोकिसकेकोले दायाँबायाँ नगरी मतदातासमक्ष विगतका उपलब्धी र कमी कमजोरी लिएर जानुको विकल्प आफूलाई ‘लोतकतान्त्रिक’ भन्ने कुनै पनि दलसँग छैन  लोकतन्त्रमा दलको विकल्प अझै राम्रा दल नै हुन् । चुनावदेखि भाग्ने छुुट कुनै पनि दललाई छैन । बरू निष्पक्ष, स्वतन्त्र तथा धाँदलीरहित चुनाव जरूरी छ ।